जो सकारात्मक परिवर्तनका लागि सिर्जना गर्छन्

तुलसी गिरी ‘भावुक’

हरिराम महर्जन ‘ठेचो’ को एकल शब्दरचना तथा जुगल डंगोलको एकल सङ्गीत रहेको नेपालभाषाको गीति एल्बम ‘मन’ र हरिराम महर्जन ‘ठेचो’ द्वारा लिखित पुस्तक ‘किन ?’ को एकैसाथ लोकार्पण गरिएको छ l केहीदिन अघि गोदावरी नपास्थित एक पार्टी प्यालेशमा साङ्गीतिक कार्यक्रम सहित कार्यक्रमको आयोजना गरी गीति एल्बम र पुस्तक सार्वजनिक गरिएको हो l कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि एवं गीतकार दुर्गालाल श्रेष्ठ लगायतले दुबै कृतिको लोकार्पण गरेका थिए l

गीति एल्बम ‘मन’ मा माँ अबु दतले { आमा बा हुन्जेलसम्म }, गुबलें खुसीइ च्वपिं न्याथें { कुनैबेला खोलाको माछा जस्तो चञ्चल }, नुग नापं नुग स्वाम्ह { मनसँग मन }, छें बुं सम्पत्ति { घर सम्पत्ति }, थुइके फ:सा जीवन { बुझ्न सके जीवन } र मनुष्य गन व्वांय् जुया छ { मनुष्य कुन बाटोमा दौडिरा’छ } गरी ६ वटा गीत रहेका छन् l जसमा प्रवेशमान शाक्य, मदनकृष्ण श्रेष्ठ, अमरराज शर्मा, सङ्गीता शाक्य, जुजुकाजी रञ्‍जित, सानुबाबु महर्जन, उत्तम महर्जन, दीपा महर्जन, सरिता शाही, देवकुमारी महर्जन, पूर्णदेवी महर्जन, जितेन्द्र महर्जन, बाबुराम महर्जन, सुरेन्द्र महर्जन, नन्दगोविन्द महर्जन, नवीन ‘थेच्वमि’, कञ्चन महर्जन र निरोज देसारले स्वर दिएका छन् l

गीतकार हरिरामका अनुसार समारोहलाई विमोचन र साङ्गीतिक कार्यक्रम गरी दुई चरणमा विभाजन गरिएको थियो l अविरल झरीको पर्वाह नगरी टिकट किनेर साङ्गीतिक कार्यक्रम हेर्नका लागि स्थानीय सङ्गीतप्रेमी दर्शक – श्रोताहरु उल्लेख्य संख्यामा भेला भएका थिए l एल्बमसँग सम्बन्धित गायक – गायिका लगायत अतिथि कलाकारहरु समेतको प्रस्तुति रहेको सो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो l यसअघि गीतकार हरिरामको एकल रचना र जुगल डंगोलकै एकल सङ्गीतमा राष्ट्रिय भावको एल्बम ‘मेरो माटो’ प्रकाशित भएको थियो l जुन एल्बमको गीत ‘आमा’ बाट उनले २०७५ सालको विन्ध्यवासिनी अवार्डमा ‘सर्वोत्कृष्ट राष्ट्रिय भावको शब्द’ मा अवार्ड समेत पाएका थिए l ‘मन’ हरिरामको दोस्रो एकल एल्बम हो l

विगतमा तत्कालीन ठेचो गाविसका अध्यक्ष समेत रहेका हरिराम पवित्र र परोपकारी भावना एवं निष्पक्ष र निस्वार्थ कर्मका कारण आजसम्म पनि आफ्नो क्षेत्रमा सर्वप्रिय छन् l भिन्न प्रकृतिको सामाजिक चिन्तन र आध्यात्मिक चेतनाले भरिपूर्ण व्यक्तित्वले गर्दा उनी आम मान्छेहरु भन्दा फरक छन् l समाज सेवाका भिन्न भिन्न पाटा हुन सक्छन् l उनले आफ्ना कृति मार्फत समाजलाई अमूल्य ज्ञान र उपदेश दिने प्रयास गरेका छन् l जसलाई समाज सेवाकै एउटा पाटोको रुपमा मूल्याङ्कन गर्न सकिन्छ l मान्छेको मन कस्तो हुन्छ, घर परिवार र बा आमाको स्थान कहाँ छ, मान्छे किन, कता र केका लागि दगुरिरहेको छ, तीर्थव्रत र धर्म के हो, मान्छे किन वेचैन छ, शान्ति कहाँ छ, जीवन के हो, जीवन कसरी सार्थक बनाउने, अनुशासन के हो, मान्छेको शत्रु के हो आदि इत्यादि आत्मज्ञान हरिरामका दुबै कृतिमा पढ्न र सुन्न पाईन्छ l  व्यावसायिकताको नाममा सर्जक – कलाकारहरु अस्वस्थ प्रतिस्पर्धा गर्दै नैतिकता, सामाजिक दायित्व, शिष्टता र मर्यादा बिर्सेर बेसरम दौडिरहेको आजको अवस्थामा हरिरामले आदर्श, स्वस्थ र जिम्मेवार समाजको परिकल्पना गर्दै आर्थिक मुनाफाको अपेक्षा रहित यी कृतिहरु प्रकाशन गरेका हुन् भनेर कसैले भन्नै पर्दैन l जसले पढ्छ या सुन्छ स्वत: यो कुरा थाहा हुन्छ l उनका कृति पढिसकेपछि या सुनिसकेपछि उनी भित्रको आत्मज्ञानी छवि छर्लङ्ग हुन्छ l

हरिराम भन्छन् –’सफलता देख्नेहरु कोशिश छाड्दैनन् र कोशिश गर्नेहरु कहिल्यै असफल हुँदैनन् l मैले व्यापारिक उद्देश्यले कृति प्रकाशन गरेको हैन l मेरा कृतिहरु समाजमा सकारात्मक परिवर्तनका लागि हुन् l हामीले आफ्ना सन्तानलाई ठूलो मान्छे बन्न र धन कमाउन सिकायौं तर संस्कार सिकाएनौ l जहाँ अनुशासन उल्लङ्घन हुन्छ, त्यहाँ अवश्य समस्या आउँछ l सन्तानलाई मीठो निन्द्रा गुमाएर बाक्लो डसना किन्न नसिकाउँ l’ उनी अगाडि थप्छन् –’हामीले जेसुकै काम गर्दापनि किन गर्ने ? भनेर यकिन गर्नुपर्छ l पहिले आफैंले आफैंलाई सोध्नुस्, सकारात्मक परिणाम आउँछ l मेरो पुस्तकको कभरमा उल्टो प्रश्नवाचक चिन्ह राखिएको छ l हाम्रो अहिलेको बाटो उल्टो छ है ! भन्ने साङ्केतिक अर्थमा यस्तो राखिएको हो l आफ्नो जीवनको परिभाषा आफैंले खोज्ने हो l हामी वर्तमानमा यस्तो कर्म गरिरहेका छौं, जसले गर्दा हाम्रो उत्तरार्ध सुखमय छैन l’

हरिरामले आफ्नो गीति एल्बम र पुस्तक दुबैमा मान्छेको जीवन, समाज, परिवेश, कर्म र परिणामलाई गहिराईबाट खोतल्ने प्रयास मात्र गरेका छैनन्, उपयुक्त मार्गदर्शन समेत पोखेका छन् l धेरै कृति निकाल्ने र ठूलो व्यापार गर्ने सर्जकहरुको भीडमा परिवार, समाज, राष्ट्र र मानव सभ्यताका लागि अतुलनीय महत्व भएका कृति प्रकाशन गर्ने हरिराम महर्जन ‘ठेचो’ लाई भिन्न रुपमा मूल्याङ्कन गर्न सकिन्छ l उनको जति प्रशंसा गरेपनि कम नै हुन्छ l