२५ बर्षे भूमिगत जीवनले जन्माएको रोमाञ्चक कृति ‘हङकङभित्र’

  – तुलसी गिरी ‘भावुक’

कवि / साहित्यकार क्रान्ति सुब्बाद्वारा लिखित नियात्रा सङ्ग्रह ‘हङकङभित्र’ केहीदिन अघि सार्वजनिक भएको छ l काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित एक समारोहमा सो पुस्तकको लोकार्पण गरिएको हो l टंक सुब्बा, राजेन्द्र रिमाल, हाङ्युग अज्ञात र लेखक क्रान्ति समेतको उपस्थितिमा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले सो पुस्तकको लोकार्पण गरेका थिए l पुस्तकको लोकार्पणपछि ‘एक युगमा एकदिन एकचोटी आउँछ’ भन्दै आफ्ना भनाईहरु राख्न सुरु गरेका क्रान्तिले भने – ‘मेरो लागि युगमा एकपटक आउने त्यो दिन आजै हो l’ २५ बर्षको भूमिगत जीवनमा तयार पारेको पुस्तक सार्वजनिक गर्न पाउँदा उनी अत्यन्तै हर्षित र उत्साहित देखिन्थे l

बि.स. २०२९, माघ १ गते पिता दल बहादुर लिम्बू र माता वुद्ध माया लिम्बूको कोखबाट जन्मिएका क्रान्तिले महेन्द्र बहुमुखी क्याम्पस, धरानबाट कानूनमा स्नातक गरेका छन् l युवा उमेरका केही वसन्तहरु धरानमा बिताएका उनले त्यो समयमा ‘यलम्बर त्रैमासिक’ को सम्पादन गरेका थिए भने उनी नेपाल टेलिभिजनबाट प्रसारित टेलि सिरियल ‘अन्त्यहीन’ का निर्माता समेत हुन् l केही टेलि चलचित्रमा अभिनय र केही समय शिक्षण पेशा समेत अंगालेका क्रान्तिका त्यो बेला देखि नै विभिन्न पत्र पत्रिकाहरुमा लेख रचना छापिने गरेका थिए l त्यो बेला उनले धरानमा ‘क्षितिज’ नामक क्लवको समेत नेत्तृत्व गरेका थिए l त्यही समयमा राजनीतिमा पनि सक्रिय क्रान्ति ‘नेपाली साहित्य प्रतिष्ठान, हङकङ’ का संस्थापक सचिव हुन् भने हङकङमै उनले ‘अविराम’ नामक साहित्यिक मासिकको सम्पादन गरेका थिए l

समारोहमा कवि टंक सुब्बाले पुस्तकको बारेमा चर्चा गर्दै हङकङमा नेपाली साहित्यको विकाश र नेपाली समाजको उत्थानका लागि क्रान्ति सुब्बाले गरेका महत्वपूर्ण कामहरुबारे प्रकाश पारेका थिए l आफू पनि क्रान्तिका धेरै अभियानहरुमा सहपाठी रहँदै आएको कुरा जानकारी गराउंदै टंकले अगाडि भने – ‘नेपाली साहित्यको क्षेत्रमा केही गरौँ भनेर क्रान्ति, म लगायतका साथीहरु मिलेर हङकङमा ‘नेपाली साहित्य प्रतिष्ठान’ को स्थापना गरियो l’ उनले क्रान्तिलाई ‘फरक र क्रिएटिभ’ सर्जकका रुपमा आफूले पाएको विचार राख्दै विमोचित पुस्तकका बारेमा आफ्ना धारणा यसरी राखेका थिए – ‘यो पुस्तकमा मेरो नाम नआए पनि कतै न कतै मेरो चरित्रको पात्रको उपस्थिति मैले देखेको छु र त्यो पात्र म नै हो भन्ने मलाई लाग्छ l फरक परिवेश, फरक भूगोल र वातावरणमा लेखिएको हुनाले दृष्टिकोण, पात्र र विम्व पनि फरक छन् l नेपालमा बस्ने पाठकहरुको लागि पुस्तकमा उल्लेख भएका कतिपय कुरा अनौठा पनि लाग्न सक्छन् l पुस्तकका कतिपय पात्रहरु चाइनिज, ताइवानी आदि आदि छन् l पुस्तकमा हङकङको पूरै चित्र देख्न सकिन्छ l’ यसैगरी हङकङेली नेपाली साहित्का एक प्रखर व्यक्ति हाङ्युग अज्ञातले नेपाली साहित्य र संस्कृतिको लागि क्रान्ति सुब्बाले गरेका कामहरुको प्रशंसा गर्दै भने – ‘क्रान्ति सुब्बाले हङकङमा नेपाली पत्र पत्रिका प्रकाशनका साथै साहित्यिक गतिविधिलाई समेत निरन्तरता दिई नेपाली भाषा र साहित्यको क्षेत्रमा उल्लेख्य काम गरेका छन् भने बेला बेलामा नेपालबाट कलाकार बोलाएर साङ्गीतिक कार्यक्रमको आयोजना गरी नेपाली समाज र संस्कृतिलाई ज्यूँदो राख्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् l’ समारोहमा प्रज्ञा प्रतिष्ठानका कुलपति र  राजेन्द्र रिमाल समेतले पुस्तकक र क्रान्तिको व्यक्तित्वको बारेमा आ-आफ्ना धारणा राखेका थिए l

३ सय ४० पृष्ठको ‘हङकङभित्र’ पुस्तक रविना राईले प्रकाशन गरेकी हुन् l ३ खण्डमा विभाजित यस पुस्तकमा हरेक खण्डमा ६ -६ वटा लेखहरु रहेका छन् l पुस्तकमा हङकङसँग सम्बन्धित इतिहासका कैयौं त्यस्ता पाटाहरु छन्, जहाँ आर्थिक, राजनैतिक, सामाजिक, धार्मिक, ऐतिहासिक लगायतका विषयमा चर्चा गरिएको छ l इतिहास र घटनाक्रमहरुको प्रामाणिक दस्तावेजको रुपमा समेत यस पुस्तकलाई मूल्याङ्कन गर्न सकिन्छ l उतैको ठाउँ, उतैका पात्र, उतैका घटना र उतैका नामले नेपाली पाठकलाई पुस्तकले रोमान्चित बनाउँछ l हङकङको मात्र नभई खगोल, सृष्टिकाल, मानव सभ्यता, धर्म, विज्ञान, ईतिहास लगायतका विषयमा चर्चा, दार्शनिक चिन्तन र विचारहरु ताज्जुबलाग्दा छन् l हरेक विषका गहिरा र शुक्ष्म विश्लेषण यति मननीय छन्, कुनैकुनै हरफमा स्पष्ट हुनका लागि त दोहोर्याएर पनि पढ्नुपर्छ l पुस्तकले क्रान्ति सुबाको २५ बर्षे भूमिगत जीवनलाई पुष्टि गरेको छ l सानोतिनो मेहेनत, चिन्तन र लगावले यस्तो पुस्तक तयार गर्न सम्भव नै छैन भन्ने जो कोहीलाई पनि लाग्दछ l कार्यक्रम चलचित्र निर्देशक एवं कवि राजेन्द्र शलभले संचालन गरेका थिए l