मनिषा प्रसाईंको शब्दरचना, हरिशरण सायमीको सङ्गीत एवं सायमी हरि र मिना निरौलाको स्वरमा रहेको गीत ‘बैंशालु ती डाली’ को म्युजिक भिडियो एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ l गीतकार एवं व्यावसायी काजिराज शाक्यको सभापतित्व र वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यमा अनामनगरस्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा सो म्युजिक भिडियोको विमोचन गरिएको हो l हरिशरण सायमीको सङ्गीत, सङ्गीत संयोजन, मिक्सिङ र माष्टरिङ रहेको यो गीतको भिडियो सोनाम पाख्रिनको निर्देशनमा तयार भएको हो l जसमा आयुष र सृष्टिको अभिनय रहेको छ l भिडियोको छायाङ्कन ज्ञानेन्द्र शर्माले र सम्पादन माधव बेल्बासेले गरेका हुन् l भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l समारोहमा ईजरायलबाट गीतकार मनिषाले पठाएको भिडियो सन्देश देखाईएको थियो l विमोचन समारोहमा प्रमुख अतिथि हरिवंश आचार्यले हरिशरण सायमीको प्रशंसा गर्दै उनी मह संचारको पहिलो रोजाईको सङ्गीत संयोजक र सङ्गीतकार भएको बताएका थिए l
यस युगल गीतकी गायिका मिना निरौला एक व्यावसायिक गायिका हुन् भने गायक सायमी हरि सोखिन गायक हुन् l यसअघि केही गीतमा मात्र स्वर दिएका सायमी हरि सङ्गीत क्षेत्रमा सङ्गीतकार, म्युजिक एरेन्जर र स्टुडियो प्राविधिकका रुपमा कहलिएका व्यक्ति हुन् l बाल उमेरमै गोविन्द किपु नामका उस्तादसँग वादन र शास्त्रीय गायन सिकेका सायमी हरिले युवा उमेरमा पण्डित होमनाथ उपाध्यायसँग तवलावादन सिकेका थिए भने उनले भारतको इलाहावादबाट तवलामा एमम्यूज [ मास्टर्स ] सम्मको अध्ययन पूरा गरेका छन् l विगतमा उनले लामो समयसम्म अग्रज सङ्गीतकर्मी गोपाल योन्जनको समूहमा रही तवलावादनको काम गरेका थिए l १६ वर्ष अघिदेखि रेकर्डिङ स्टुडियो संचालन गरिरहेका सायमी हरिका हालसम्म नेपालभाषाका ६ वटा र नेपाली भाषाका ४ वटा गरी एकल सङ्गीतका १० वटा गीति एल्बम प्रकाशन भएका छन् l
video link