-सीतल आचार्य
नेपाली संस्कृतिको सप्तरङ्गी झल्को प्रस्तुत गर्दै एभरेष्ट नेपाल कल्चरल ग्रुप (ENCG) ग्रीसबाट स्वदेश फर्किएको छ। संस्थापक अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’को नेतृत्व तथा संस्थाकी निर्देशक सीतल आचार्यको संयोजनमा ग्रीस पुगेको सांस्कृतिक टोलीले थेसालोनिकी (Thessaloniki) शहरमा आयोजित १८औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको प्रतिनिधित्व गर्दै मौलिक कला–संस्कृतिको गौरवमय प्रस्तुति दिएको हो।
नेपालसहित विभिन्न सात देशका कलाकार तथा सांस्कृतिक टोलीहरूको सहभागिता रहेको उक्त अन्तर्राष्ट्रिय मेलामा नेपाली टोलीले नेपालको मौलिक लोककला, लोकनृत्य र सांस्कृतिक विविधता झल्काउने विभिन्न प्रस्तुति प्रस्तुत गरेको थियो। नेपाली कलाकारहरूको प्रस्तुतिले दर्शक तथा सहभागीहरूबीच नेपालको कला र संस्कृतिप्रति विशेष आकर्षण र उत्साह सिर्जना गरेको थियो।

टोलीमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’, निर्देशक सीतल आचार्य, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्य निर्देशकहरू केशव कोइराला र सपना महर्जन, कलाकारहरू कृष्ण रसाल, राजु गिरी, भवानी कोइराला, गौरी ढकाल, पवित्र आचार्य, शान्ति कठायत, सुदन मान मुनिकार, व्यवस्थापक राम श्रेष्ठ ‘मान बहादुर’ तथा ग्रुपका आइकन कलाकार सिराज कोइराला लगायतको सहभागिता रहेको थियो।
मेलामा नेपाली मौलिकता, परम्परा र सांस्कृतिक विविधता झल्काउने मारुनी, कौरा, गर्रा, यति, कालभैरव, लाखे, मञ्जुश्री, धिमाल झ्याउरे तथा थाली नृत्य लगायतका आकर्षक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। नेपाली कलाकारहरूले विभिन्न सांस्कृतिक पहिरन तथा परम्परागत शैलीमार्फत नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका थिए। मेलाको अवधिभर नेपाली कलाकारहरूले ग्रीसका विभिन्न स्थानहरूको अवलोकन गर्नुका साथै सहभागी देशका कलाकार तथा आयोजकहरूसँग सांस्कृतिक अन्तरक्रिया र अनुभव आदान–प्रदान गरेका थिए।
यस क्रममा संस्थाकी निर्देशक सीतल आचार्यले भविष्यमा सरकारी तथा गैरसरकारी संस्थाहरूबीच सहकार्य र समन्वय गरी यस्ता अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रमलाई अझ विस्तार गर्ने पहल गरिने बताउनुभयो। त्यस्तै, समूहका प्रमुख तथा संस्थापक अध्यक्ष डा. आरसी कोइराला ‘रामचन्द्र’ले स्थानीय नगरपालिका प्रमुख, मेला आयोजक तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग भेटघाट गरी नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धनका सम्भावना, कला–संस्कृतिको आदान–प्रदान तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गर्नुभएको थियो।
उहाँले सरकारी तथा गैरसरकारी निकायहरूको सहकार्यमा यस्ता सांस्कृतिक कार्यक्रमलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो। मेलाका क्रममा नेपालमा हालै गएको विनाशकारी बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकहरूका लागि राहत रकम संकलन गर्ने कार्यसमेत गरिएको थियो। नेपाली टोलीको पहलमा संकलन गरिएको उक्त राहत रकम सम्बन्धित प्रभावित तथा पीडितहरूलाई हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढाइएको संस्थापक अध्यक्ष डा. आरसी कोइरालाले जानकारी दिनुभयो। डा. कोइरालाका अनुसार संकलित राहत रकम एक–दुई दिनभित्र सम्बन्धित पक्षलाई हस्तान्तरण गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ। अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चमा नेपालको कला र संस्कृति प्रस्तुत गर्नुका साथै विपद्का समयमा प्रभावित नेपाली नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै मानवीय सहयोग जुटाउने प्रयाससमेत गरिएको उहाँले बताउनुभयो।
एभरेष्ट नेपाल कल्चरल ग्रुपले विगत लामो समयदेखि नेपाली लोककला, लोकनृत्य, लोकसंगीत तथा मौलिक संस्कृतिको संरक्षण, संवर्द्धन र अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गर्दै आएको छ। संस्थाले सांस्कृतिक आदान–प्रदानमार्फत नेपाल र विश्वका विभिन्न देशबीच आपसी सम्बन्ध, सद्भाव र सांस्कृतिक पर्यटनको प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको जनाएको छ।













