पुर्ख्यौली तथा जन्मथलो खोटाङ भएपनि सानैमा चितवन र त्यसपछि काठमाण्डौमा खेले हुर्केकी प्रतिभा शर्मिला राईले भरखरै नृत्य शैलीको भिडियो सार्वजनिक गरेकी छिन् l गीत रचनालाई नै मुख्य पेशा बनाएका दुर्लभ गीतकारहरु मध्येका एक डिपी खनालको शब्दरचना र फाष्ट बिटका गीतका लागि भिन्न पहिचान स्थापित गरिसकेका सङ्गीतकार शंकर थापा ‘स्माइल’ को सङ्गीतमा उदियमान गायिका शर्मिला राईले स्वर दिएको गीत ‘आँखामा गाजल लाएर हेरौं भन्छ मन’ भरखरै डश म्युजिकले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो l भरखरै यौवन फुलेकी युवतीको बैंसजन्य रहर र कौतुहलताको स्वाभाविक सेरोफेरोमा लेखिएको यस गीतको भिडियो यो समाचार लेखिरहँदा युट्युबमा एकलाखको हाराहारीमा हेरिएको छ l गीतमा लोक फ्लेवरको मिश्रण पाइन्छ भने मायालु मिठास स्वरले गीत श्रुतिमाधुर्य बनेको छ l विजय रुम्बाको निर्देशन तथा कोरियोग्राफीमा निर्माण भएको यस भिडियोमा एलिशा राई र आकाश राईले प्रमुख भूमिका निर्वाह गरेका छन् भने कोरस कलाकारका रुपमा नेपाल रुम्बा कल्चर एकेडेमीमा रिदिमा राई, सिर्जना क्षेत्री, सम्झना क्षेत्री, सुनिता तामाङ, नम्रता तामाङ, दिपा स्याङ्तान, सुजाता मगर र शान्ति राईले साथ दिएका छन् l गायिका शर्मिलाले यसअघि गत बैशाखमा अल्बिन थापा मगरको शब्द/सङ्गीत रहेको आधुनिक गीत ‘संसारकै नमूना बनोस् हाम्रो माया’ पहिलोपटक रेकर्ड गरेकी थिईन् l युगल स्वरको यस गीतमा उनलाई गीतकार तथा सङ्गीतकार अल्बिनले नै साथ दिएका थिए l भिडियो नबनेका कारण सो गीत आशातित रुपमा श्रोतामाझ पुग्न नसकेको शर्मिलाको ठम्याई छ l निकट भविष्यमै पहिलो गीतको पनि भिडियो बनाउने योजना रहेको कुरा उनले जानकारी गराएकी छिन् l
सङ्गीत क्षेत्रमा अगाडि बढ्नका लागि अभिभावकहरुको पनि राम्रो ‘सपोर्ट’ पाईरहेकी शर्मिला आफ्नो परिवारबाट यस क्षेत्रमा लाग्ने एकमात्र कलाकार हुन् l स्कूल पढ़दैदेखि आशालाग्दो प्रतिभाका रुपमा चिनिएकी शर्मिलाले त्यो बेला धेरै पुरस्कारहरु समेत जितेकी थिईन् l उनले मनोजराजसँग लगभग १ वर्ष शाश्त्रीय सङ्गीत सिकेकी छिन् भने यतिबेला अन्य गीत रेकर्डको पनि तयारी भईरहेको उनले जानकारी गराएकी छिन् l सङ्गीत क्षेत्रमा अगाडि बढ्नका लागि साथ-सहयोग गर्ने सङ्गीतकर्मी विजय रुम्बाको उनले सम्मानपूर्वक नाम लिएकी छिन् l
video link