नयाँ पहिचानमा वरिष्ठ चित्रकार ज्योतिप्रकाश

गायक तथा सङ्गीतकार ज्योतिप्रकाशको एकल स्वरको गीति एल्बम ‘जून र ज्योति’ भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभा हलमा आयोजित एक औपचारिक समारोहमा सार्वजनिक भएको छ । अग्रज गायक/सङ्गीतकार प्रेमध्वज प्रधान, चित्रकार के. के. कर्माचार्य, गीतकार सङ्घका अध्यक्ष  चूडामणि देवकोटा, गीतकार नवराज लम्साल, पत्रकार शान्तिप्रिय लगायतले एल्बमको संयुक्तरुपमा विमोचन गरेका हुन् । चन्द्र भट्टचनको एकल शब्दरचना र ज्योतिप्रकाशको एकल सङ्गीत/स्वरमा रहेको यस एल्बममा ‘बिन्ती छ मलाई, जाने निष्ठुरी, कति रातहरू, हिजोभन्दा आज राम्री’ र ‘तिमीसँग गीत’ बोलका पाँचवटा गीत रहेका छन् । जसमध्ये तीनवटा सेन्टिमेन्टल र दुईवटा रोमान्टिक भावमा छन् भने एउटा युगल गीतमा ज्योतिलाई गायिका मिलन अमात्यले स्वरमा साथ दिएकी छिन् l विमोचन कार्यक्रममा एल्बममा रहेका दुईगीत ‘बिन्ती छ मलाई निठूरी नभन’ र ‘हिजो भन्दा आज राम्री’को भिडियो समेत प्रदर्शन गरिएको थियो । भिडियो पत्रकारद्वय शान्तिप्रिय र सुमन पण्डितको निर्देशनमा तयार भएको हो भने यी दुबै भिडियो हाईलाइट्स नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ । भिडियोमा सनम कठायत, खुश्बु खड्का, नारायण ढकाल र विनिताले अभिनय गरेका छन् l
त्रिविवि अन्तर्गतको ललितकला कलेजमा चित्रकला सम्बन्धी प्राध्यापन समेत गर्दै आएका ज्योतिप्रकाश आधुनिक चित्रकलामा उच्च ख्याति भएका कलाकार समेत हुन् l उनले हालसम्म ७ पटक एकल चित्रकला प्रदर्शनी गरिसकेका छन् भने आठौँ प्रदर्शनीको तयारी पनि भईरहेको जानकारी गराएका छन् l  सानैदेखि गीत-सङ्गीतप्रति गहिरो झुकाव भएपनि एल्बमको रुपमा प्रकाशित उनको यो पहिलो कृति हो l ‘म व्यावसायिक सङ्गीतकर्मी नभएपनि सङ्गीत मेरो अन्तर्मनको चाहना, रहर र सपना हो l गाउँमा घाँस-दाउरा र मेलापात गर्दा गुन्गुनाएका भाकहरुको एउटा मूर्त रुप हो ‘जून र ज्योति’ उनी भन्छन् l सङ्गीत सिर्जनामा झैं गायनमा पनि अब्बल भएपनि ज्योति आफूलाई ‘सङ्गीतकार’ भन्नमै बढी सन्तुष्टि महसुस गर्छन् l

समारोहमा सङ्गीतकार राजु सिंह, गीतकार चूडामणि देवकोटा, गायक/सङ्गीतकार प्रेमध्वज प्रधान, चित्रकार के के कर्माचार्य लगायतका वक्ताहरुले एल्बमका गीत र ज्योतिप्रकाशको समग्र व्यक्तित्वको बारेमा चर्चा गर्दै चित्रकारितामा झैं गीत-सङ्गीतमा पनि ज्योतिको सिर्जनशीलता प्रसंशनीय रहेको धारणा राखेका थिए ।
विष्णु अधिकारीसँग करिव ४ वर्ष किबोर्ड सिकेका ज्योतिले औपचारिक रुपमा गायनको शिक्षा नलिए पनि किबोर्ड सिक्ने क्रममै ‘भोकल’ को पनि रियाज गरेका थिए भने अनौपचारिक ढङ्गमा वरिष्ठ साधक प्रकाश गुरुङसँग साधना कला केन्द्रमा र प्रदिप बम्जनसँग मधुरिमा कला केन्द्रमा उनले शाश्त्रीय सङ्गीत सिकेका हुन् l ०७२ सालको महाभूकम्प पश्चात अरुका भन्दा भिन्न भाव बोकेको धैर्यता र साहसको सन्देश भएको ‘भूकम्प गीत’ ‘वुद्धका आँखा हेर शालीन छन् अझै’ रेकर्ड गरी सङ्गीतमा औपचारिक पाईला बढाएका बहुमुखी प्रतिभा ज्योतिको सङ्गीत तथा स्वरमा यसअघि पनि १० वटा गीत फुटकर रुपमा प्रकाशित भईसकेका छन् l ०५६ सालमा प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘ब्राईटर तिम्रो सुर मेरो गीत’ मा उनी पाँचौं राउण्डसम्म छनोटमा परेका थिए l एकाएक सो कार्यक्रम नै बन्द भएपछि त्यो बेलाका सबै प्रतिस्पर्धीहरुको उत्साहमाथि कुठाराघात भएको उनी सम्झन्छन् l गलामा पनि क्षमता भएको सङ्गीतकार सुनमा सुगन्ध भएझैं हुने उनको बुझाई छ l जहिले पनि फरक प्रकृतिको काम गर्न रुची राख्ने ज्योतिको फरक सोच ‘जून र ज्योति’ मा पनि महसुस गर्न सकिन्छ l