अरु कमाउनको लागि समाजसेवा र राजनीति गर्छन् तर उनी कमाएको खर्च गरेर सेवा दिन्छन्

सङ्गीत तथा चलचित्र क्षेत्रमा हस्त लिबाङको नाम नसुन्ने नेपालीहरु कमै होलान् l बहुआयामिक व्यक्तित्व भएका सर्जक, कालाकार तथा निर्माता हस्तले लामो समयदेखि सङ्गीत र चलचित्र क्षेत्रका विविध पाटाहरुमा सर्जक, कलाकार र लगानीकर्ताको रुपमा आफूलाई सक्रीय राख्दै आएका छन् l समाजसेवीको रुपमा समेत उत्तिकै लोकप्रिय हस्त भन्छन् -‘अरु समाजसेवा र राजनीतिमा लागेर कमाउँछन्, म कमाएको पैसाबाट समाजसेवा र राजनीति गर्छु l आफूले मेहेनत गरेर कमाएको पैसाले समाजसेवा गर्नुको आनन्द र सन्तुष्टिले मलाई संधै उर्जा दिईरहन्छ l जुन अनुभूति शब्दमा व्यक्त गर्न सकिन्न l’
पूर्वी नेपालको रमणीय पहाडी जिल्ला ताप्लेजुङ पुर्ख्यौली थलो भएपनि मोरङ जिल्लाको केराबारीमा पिता आइत बहादुर लिबाङ र माता तनौटी इवा लिबाङको कान्छा छोराको रुपमा हस्तको जन्म भएको हो l उनी बाल्यकालदेखि नै कला, साहित्य, आफ्नो मातृभाषा, संस्कार र संस्कृतिलाई औधी माया गर्थे l केही गरौँ भन्ने भावना हुँदाहुँदै पनि समय-परिस्थिति अनुकुल नभएका कारण त्यो कुरा मनमै मात्र सीमित थियो l युवा उमेरका केही वसन्तहरु विदेशी भूमिमा कटाएका हस्तले पहिलोपटक आफ्नै मातृभाषामा यस्तो गीत लेखे-
‘तङबे थिक्ले फेन्नारो केबातुआङ केबेबा
आखे माङघा केबेआङ केम्भेन्न आदाङ्बे, हाप्पा चुरुरु’  यो गीत मनु नेम्बाङको स्वरमा रेकर्ड भएपछि उनको गीतकारिता यात्राले औपचारिक मोड लिएको थियो l यो गीतबाट राम्रो प्रतिक्रिया आएपछि ०६४ सालमा उनले लिम्बू भाषामा पहिलो एल्बम ‘हाप्पा चुरुरु’ प्रकाशन गरेका थिए l जसका सबै गीत उनकै शब्द-सङ्गीतमा थिए भने मनु नेम्बाङ र धनवीर साँवाको स्वर रहेको थियो l त्यसपछि ०७२ सालमा पूर्वेली लोक-आधुनिक शैलीको गीत ‘लै लै मा माया लै लै’ भिडियोमा सार्वजनिक भएको थियो l जसमा हस्तकै शव्द र सङ्गीत थियो भने भिडियोमा मोडलिङ पनि उनी स्वयम्ले गरेका थिए l उनले हालसम्म ३ दर्जनजति लिम्बू भाषाका र ४ दर्जनजति नेपाली भाषाका गीत रेकर्ड गरिसकेका छन् l आफ्ना सबैजसो गीतमा आफै सङ्गीत समेत गर्दै आएका हस्त लिबाङ चलचित्र  निर्माणको क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन् l

पहिलोपटक किशोर सुब्बाको निर्देशनमा नेपाली कथानक चलचित्र ‘खुर्पा’ निर्माण गरी निर्माताको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेका हस्तले त्यसपछि ‘रेस’, ‘अदालत’ र लीम्बू भाषाको चलचित्र ‘साम्’ निर्माण गरेका छन् l लिबाङ फिल्म्सका प्रवन्ध निर्देशक हस्तलाई चलचित्रमा कलाकारको रुपमा समेत देख्न सकिन्छ l पछिल्लो समयमा उनले प्रकाशन गरेको लीम्बू भाषाको भिडियो एल्बम ‘सिङजाङगोफुङ’ ले बजारमा राम्रो चर्चा पाएको छ l एल्बममा उनकै रचना-सङ्गीतका ६ वटा गीत रहेका छन् भने पूर्वान्चलका रमणीय एवं पर्यटकीय स्थलहरु इलाम, कन्याम, लब्रेकुटी, सिलौटी, यासोक, कुम्मायक माङहिम, कुसायक माङहिम, तमोर नदी, काबेली, माङ्सेबुङ, लारुम्बा, काठमाण्डौ र हङकङमा छायांकन गरिएको कारणले पनि भिडियोहरु विशेष महत्वका बनेका छन् l व्यावसायिक सोचले भन्दापनि मौलिक कला, भाषा, संस्कृति र संस्कारको जगेर्ना एवं प्रवर्धनको चिन्तनबाट समर्पित भावले नेपाली सङ्गीत तथा चलचित्र क्षेत्रमा क्रियाशील रहेका हस्त लिबाङ अरु भन्दा भिन्न छन् र समाजले उनको व्यक्तित्वको मूल्याङ्कन पनि भिन्न तरिकाले गरेको छ l