तीजमय सङ्गीत बजार

तीज आउनुभन्दा ३-४ महिना अगाडि नै तीजगीत रिलिज गर्ने प्रवृत्ति विगतमा झैं यसपाली पनि दोहोरिए भने छाडा, द्वीअर्थी. परम्परा र पर्वको मर्म बाहिरका गीतमा भने गतबर्ष भन्दा यो वर्ष उल्लेख्य कमी आएको महसुस गरिएको छ l गतवर्ष अत्यन्तै असभ्य, असामाजिक र द्विअर्थी गीत प्रकाशन गर्ने कलाकारहरुले समेत यो साल सभ्य र तीज विशेष भाव भएका गीत प्रकाशन गरेको पनि देखिएको छ l  तथापि २ महिना अगाडिदेखि नै तीजगीत रिलिज गर्नुलाई भने सङ्गीत बजारमा स्वाभाविक रुपमा लिन थालिएको छ l तीज आउनुभन्दा धेरै अगाडिदेखि दैनिक ठूलो संख्यामा तीजगीतका भिडियो युट्युबमा अपलोड हुने भएकोले अन्य प्रकारका गीत राम्रा नै भएपनि ओझेलमा पर्ने भएका कारण यस बीचमा तीज बाहेकका गीत बजारमा कमै आउने गर्दछन् l बजारमा कुन कुन कलाकारका, के कस्ता र कति तीजगीत आए भन्ने कुरा यकिनका साथ भन्न सकिने अवस्था छैन l राम्रा गीतहरुको बारेमा समेत यो एउटा सानो लेखमा चर्चा गर्न पक्कै पनि सम्भव हुन्न l तथापि हालै रिलिज भएका राम्रा केही गीतहरुको बारेमा यहाँ छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ l
यसपालीको तीजमा स्वरुपा रसाईलीले आफ्नी ७४ बर्षीय आमा पवित्रा रसाईलीसँग गाएको तीजगीत ‘मीठो सम्झना’ ले पनि सङ्गीत बजारमा राम्रै चर्चा पायो l विजय कुमार सुनारको शब्दरचना, बी. बी. अनुरागीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको सो तीजगीतको भिडियो शिव बि. क. ले निर्देशन गरेका थिए l भिडियो राजधानीमा औपचारिक कार्यक्रम गरेर नै सार्वजनिक गरिएको थियो l भिडियोमा सङ्गीतकार बी. बी. अनुरागीकी छोरी शिक्षा रसाईलीले प्रमुख नृत्यांगना उषा विश्वकर्मासँगै आकर्षक नृत्य गरेकी छिन् l पर्व विशेषको मर्म बोकेको यस गीतको शब्द, सङ्गीत र गायकीको सबैले प्रसंशा गरेका छन् l
यसैगरी कला पत्रकार गीता अधिकारीको शब्दरचना, दीपक शर्माको सङ्गीत र सारिका घिमिरेको स्वरमा रहेको तीजगीत ‘यतै घमाईलो’ पनि संचार जगतमा लामो समय चर्चामा रहेको थियो l दशक अघिदेखि कला पत्रकारितामा सक्रिय रहेकी गीता अधिकारीको रचनामा रेकर्डेड पहिलो गीत साथै चलचित्र अभिनय, भिडियो मोडलिंग र गायनलाई सँगसँगै अगाडि बढाईराहेकी कलाकार सारिका घिमिरेको स्वरको पहिलो तीजगीत भएको कारणले मिडियाहरुमा चर्चामा रहेकै बेला नेपालमा निर्मित पहिलो चलचित्र ‘आमा’ की नायिका भुवन चन्द, पहिलो नेपाली रंगिन चलचित्रकी नायिका चैत्यदेवी र नेपाली चलचित्रकी पहिलो हास्य अभिनेत्री वसुन्धरा भुसालले सो गीतको भिडियोमा नृत्य गरेपछि बजारमा गीता र सारिका थप चर्चामा आएका थिए l सन्देशमूलक भाव, मीठो सङ्गीत र गायकी रहेको यस गीतको भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन् भने छायांकन वीरेन्द्र भाट विपिनले गरेका थिए l

म्युजिक खबर पाक्षिक र म्युजिक खबर डटकम अनलाइनकी सम्पादक सविता पोख्रेलको रचना र काब्य आचार्यको सङ्गीत/स्वर रहेको तीजगीत ‘विरानो भो माइतीको आँगन’ पनि सङ्गीत बजारमा चर्चामा रहेको अर्को गीत हो l बागबजारस्थित हेल्लो क्याफेमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको यस गीतको भिडियो प्राज्ञ तथा गीतकार उन्नति बोहरा ‘शिला’ र गायक शिव परियारले संयुक्त रुपमा विमोचन गरेका थिए l पत्रकार सविता पोख्रेलको रचनामा रेकर्ड भएको पहिलो गीत तथा तीज विशेष भाव बोकेका कारण पनि यो गीतको सर्वत्र प्रसंशा भएको छ भने काव्यको सङ्गीत र गायकी मीठो भएका कारण पनि गीतको सबैले प्रसंशा गरेका छन् l
गीतकार, सङ्गीतकार तथा गायक कृष्ण कटेलको शब्दरचना/सङ्गीत र श्रेया नेपालको सुमधुर स्वरमा रहेको अर्को तीजगीत ‘यो तीजमा माईतीको आँगन’ पनि प्रसंशनीय रहेको छ l नारी मनका स्वाभाविक र पर्व विशेषसँग सम्बन्धित भाव बोकेको यो गीतको भिडियो दीपक तामांगको निर्देशन/सम्पादनमा निर्माण भएको हो l
यसैगरी १५ बर्षीय गायिका सुदृष्टि राईको ‘तृतिया तिथिमा तीज बरी लै’ पनि तीजगीत भन्न लायकको अर्को गीत हो l सुमन श्रापितको शब्दरचना र बी. बी. अनुरागीको सङ्गीत तथा सङ्गीत संयोजन रहेको यो गीत सबैभन्दा कम उमेरकी गायिकाको तीजगीतका रुपमा समेत चर्चामा रहेको थियो l अनामनगरस्थित एक क्याफेमा अनौपचारिक ढंगको एक कार्यक्रमको आयोजना गरी केही संचारकर्मीहरु माझ गीत सार्वजनिक गरिएको थियो l कार्यक्रममा सुदृष्टिका बुबा सुजन राई र आमा दीप्ता राईको समेत उपस्थिति रहेको थियो l
बिपिन किरणको शब्दरचना, श्रीकृष्ण बम मल्लको सङ्गीत र संचारकर्मी कल्पना भण्डारीको स्वरमा रहेको अर्को तीजगीत ‘अहिलेको तीजैमा’ लाई पनि बजारमा आएका सुन्न/हेर्न लायक तीजगीतहरुको लहरमा राख्न सकिन्छ l गीतको भिडियो टेकेन्द्र शाहको निर्देशन/सम्पादनमा तयार भएको छ भने गीतमा चेलीका पर्व विशेष स्वाभाविक इच्छा आकाङ्क्षाहरुको वर्णन गरिएको छ l
विगत ४ वर्षदेखि निरन्तर तीजगीत प्रकाशन गर्दै आएकी गायिका योजना पुरीको पनि चौथो तीजगीत ‘सपक्कै सारी सप्को पारेर’ बजारमा आएको छ । मोरंग जिल्लाको उर्लाबारीबाट राजधानी प्रवेश गरी लामो समयदेखि सङ्गीत क्षेत्रमा सक्रिय रहेकी योजनाका  प्रायजसो सबै गीत मिठासपूर्ण र साँस्कृतिक मर्म अनुसार नै रहँदै आएका छन् l  जसमध्ये ‘ए शिवजी’ उनको चर्चित तीजगीत हो । ‘सपक्कै सारी सप्को पारेर’ नेपाली समाजले हेर्न र सुन्न चाहेको   तीजगीत भएको कुरा योजना बताउँछिन् l कमल सरगमको शब्द र एक नारायण भण्डारीको लयमा तयार भएको यस गीतको भिडियोमा जान्वी बोहरा र दिक्पाल कार्कीको अभिनय रहेको छ । भिडियो स्मृति तिमिल्सिनाको निर्देशनमा तयार भएको हो l अहिलेसम्म भिडियोमा नकारात्मक प्रतिक्रिया नआएको पनि योजनाले जानकारी गराएकी छिन् l
गीतकार बिके भूपेन घमालद्वारा रचित तीजगीत ‘के गर्नु यो मेरो रुपैले, अहिलेसम्म घरबारै भएन’ को भिडियो आत्मविश्वास फिल्म्सको युट्युब च्यानलबाट सार्वजनिक भएको छ l तीजमा अबिबाहित युवतीले बस्ने महादेवको व्रत र वरको चाहनालाई गीतको विषयवस्तु बनाईएको छ l लोक परम्परालाई आधार बनाएर रचना गरिएको यस गीतको भिडियोको अन्त्यमा युवतीको चाहना पूरा भएको देखाईए पनि सबै घटनाक्रम युवती सपनाबाट ब्युँझेसँगै अन्त्य हुन्छ र भिडियो सकिन्छ l दुर्गा विरहीको सङ्गीत तथा प्रीति आले र दुर्गा विरहीको स्वरमा रहेको यस गीतको भिडियो दुर्गा विरहीले नै निर्देशन गरेका हुन् भने भिडियोमा सागर बि. क., नुना आर.एन., सन्तोष मगराती, सचिन सुनार, तुलसी खरेल, सोनु थापा लगायतका कलाकारको अभिनय रहेको छ l भिडियोको छयांकन तथा सम्पादन जितु तामांगले गरेका हुन् l
लगभग ५ वर्षअघि आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘साथी बन्यो नशा मेरो तिम्रो साथ भुलाउनलाई’ बोलको गीत रेकर्ड गरेर सङ्गीत क्षेत्रमा प्रवेश गरेका भूपेनको तीजगीत भने यो नै पहिलो हो l शब्दरचना, सङ्गीत र स्वरका गरी उनका हालसम्म आधा दर्जन गीत रेकर्ड भएका छन् l पेशाले सुनचाँदी गहना व्यावसायी भूपेन व्यावसायिक सङ्गीतकर्मी नभएपनि सङ्गीतकर्मलाई उनले निरन्तरता दिईरहेका छन् l
जिनियश म्युजिकले पनि शम्भुजीत बासकोटाको शब्द/सङ्गीतमा रहेको तीजगीत ‘तीजको रहर लै बरी लै’ बजारमा ल्याएको छ l शिव बि. क. को निर्देशन तथा दिपेन्द्र भट्टको छायांकन/सम्पादनमा तयार भएको यस गीतको भिडियोमा मिथिला शर्मा, रुपा राना, आशा गौतम लगायतका कलाकारको नृत्य रहेको छ l भिडियो अपलोड भएको २ हप्तामै लगभग साँढे २ लाखपटक हेरिएको छ l संस्कृतिजन्य भाव भएको यस गीतमा परम्परा नबिगारौं भन्ने सन्देश पनि दिईएको छ l