सुन तस्कर प्रहरीको फन्दामा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले सुन तस्करीको सञ्जाललाई कारबाहीको दायरामा ल्याएको दाबी गरेको लामो समय नबित्दै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार अवैध सुनसहित दुईजनालार्इ पक्राउ गरेको छ।

राष्ट्रियसभा मातहतको दिगो विकास तथा सुशासन समितिको बैठकमा एकदिन अगाडि उनले सुन तस्करीमा संलग्न व्यक्तिहरुको सञ्जाल ध्वस्त भएको र मुख्य पात्र कारबाहीको दायरामा आईसकेको कुरा जानकारी गराएका थिए । तर गृहमन्त्री थापाले सो कुरा जानकारी गराएको २४ घण्टा पनि नबित्दै प्रहरीले सिराहाका सन्तोष कुमार चौधरी र  रामवृक्ष यादवलार्इ तस्करीको सुनसहित प्रकाउ गरेपछि मन्त्री थापाको दावी झुठो भएको हो l

प्राप्त जानकारी अनुसार उनीहरुलार्इ प्रहरीले  विमानस्थलको  पार्किङ क्षेत्रबाट रंगेहात पक्राउ गरेको हो । विदेशबाट नेपाल फर्कंदै गरेका यात्रुहरुको सहयोगबाट उनीहरु भन्सार छल्न सफल भएको थाहा भएको छ l

गृहमन्त्री थापाले अवैध तरिकाबाट नेपाल भित्रिने सुन मध्ये १० प्रतिशत मात्र नेपालमा खपत हुने र बाँकी सुन पुन: भारततिर तस्करी हुने जानकारी गराउंदै तीन बर्षको अवधिमा एउटा तस्कर समूहले मात्र नेपालमा ४ हजार क्विन्टल सुन भित्त्र्याएको कुरा समेत मंगलबार बैठकलाई जानकारी गराएका थिए l