हृदयघातका कारण कलाकार केसीको निधन


वरिष्ठ कलाकार रमेश केसी ‘मट्टारे’ को हृदयघातका कारण निधन भएको छ l एउटा गीतको छायाङ्कन भईरहेको समयमा ३ गते बिहान धर्मस्थलीमा कलाकार केसीलाई अचानक ह्रदयघात भएपछि गंगालाल अस्पताल लैजाँदा अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो । कलाकार केसीको ३ गते अपरान्ह हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटमा दाह संस्कार गरिएको छ । उहाँका सुपुत्र मधुसूदन केसीले दिवंगत रमेश केसीको पार्थिव शरीरमा दागबत्ती दिएका थिए । दिवंगत कलाकर्मी रमेश केसीको पार्थिव शरीरमा नेपाल चलचित्र कलाकार सङ्घको झण्डा ओढाएर अन्तिम बिदाई गरिएको थियो ।

‘मट्टारे’ उपनामले लोकप्रिय हुनुभएका रमेश केसीको पार्थिव शरीरमा चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार सङ्घका अध्यक्ष रविन्द्र खडका, कलाकार सङ्घका पदाधिकारी, कार्यकारिणी सदस्य लगायत कलाकर्मी, चलचित्रकर्मी तथा आफन्त-शुभेच्छुकहरूले पुष्प गुच्छा र अबिर अर्पण गरी अन्तिम श्रदाञ्जाली दिएका थिए ।

तीन दशकभन्दा बढी समयदेखि रङ्गमञ्च, टेलि चलचित्र तथा कथानक चलचित्रहरुमा अभिनय गर्दै आउनुभएका ६९ बर्षीय रमेश केसीका धर्मपत्नी, दुई छोरा र एक छोरी छन् । रमेश केसीले दर्जनौ नाटक,  दर्जनौ टेलि चलचित्र र ठूलो पर्दाका चलचित्रहरुमा अभिनय गर्नुभएको छ । बिशेष गरेर रमेश केसी हास्य विधामा लोकप्रिय कलाकार मानिनुहुन्थ्यो । उहाँको असामयिक देहावसानले नेपाली कला संस्कृतिको क्षेत्रमा अपुरणीय क्षति भएको छ । नेपाल चलचित्र कलाकार सङ्घले एक विज्ञप्ति प्रकाशित गरी रमेश केसीको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।