फाउण्डेसनले पुरस्कारको राशी सहायता कोषलाई अर्पण गर्यो

-तुलसी गिरी ‘भावुक’


भुवन चैत्य बसुन्धरा फाउण्डेसनले २०७८ सालको विभिन्न शीर्षकका पुरस्कार राशीहरु कलाकारद्वारा सञ्चालित सिन्धु सहायता कोषचलचित्र बिकाश बोर्ड अन्तर्गत गठन भएको चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई अर्पण गर्ने निर्णय गरेको छ l

फाउण्डेसनका सचिव वरिष्ठ लेखक, कलाकार तथा निर्देशक मोहन निरौलाद्वारा हिजो सार्वजनिक भएको प्रेस बिज्ञप्तिका अनुसार भुवन चैत्य बसुन्धरा फाउण्डेसनले अर्पण गर्ने बि सं २०७८ सालको हरिश भुवन चन्द पुरस्कार, चेतनारायण बसुन्धरा भुसाल पुरस्कारचैत्यदेवी पुरस्कार कोभिडको दोश्रो भेरियन्टका साथै निषेधाज्ञाको कारण एवं बाढी पहिरोले जनजीवनमा पुर्याएको क्षतिलाई मध्यनजर राख्दै सर्जक-कलाकारलाई प्रदान नगरी कलाकारद्वारा सञ्चालित सिन्धु सहायता कोषचलचित्र बिकाश बोर्ड अन्तर्गत गठन भएको चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई अर्पण गर्ने निर्णय गरिएको छ ।

फाउण्डेसनकी अध्यक्ष बशुन्धरा भुसालको अध्यक्षतामा २०७८/३/१७ गते बसेको बैठकले रू. १,०२,०००/-(एक लाख दुई हजार) सिन्धु सहायता कोषलाई र रू. ५१,०००/-(एकाउन्न हजार) चलचित्रकर्मी बिपद व्यबस्थापन कोषलाई अर्पण गर्ने निर्णय गरिएको हो । चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई क्रियाशिल बनाउनुपर्ने मान्यता राखि यसअघि नै नेपाल चलचित्र कलाकार सङ्घले पचपन्न हज़ार रूपैया प्रदान गरिसकेको छ ।

कोभिडको दोश्रो भेरियन्टको प्रकोप रहिरहेकाले २०७८/३/१८ गते जमघट नगरी सिन्धु सहायता कोषका संयोजक कृष्ण मल्ललाई एकलाख दुई हजार रूपैया हस्तान्तरण गरियो । उक्त अवसरमा सिन्धु सहायता कोषका सह संयोजक करिष्मा मानन्धर, सदस्य सचिव कृष्ण ढुंगाना, सदस्य जीतु नेपाल, चेतन सापकोटा, शिवहरी बैरागी तथा फाउण्डेसनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो भने चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई अर्पण गरिने एकाउन्न हजार नगद चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाललाई हस्तान्तरण गरिने थाहा भएको छ ।

यसअघि स्थापना बर्षको पुरस्कार चलचित्र बिकाश बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एकलाख त्रिपन्न हजार रूपैया अर्पण गरिएको थियो भने गत बर्षको पुरस्कार बिशिष्ट चलचित्रकर्मी शकुन्तला शर्मा, बिशिष्ट नृत्य निर्देशक भैरब बहादुर थापा र बिशिष्ट चलचित्रकर्मी मह जोडीलाई अर्पण गरिएको थियो ।