ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण जनवरी ५ मा

आफ्नै नाम, शान र पहिचान सहित तेस्रोपटक ‘ग्लोबल नेपाली फिल्म अवार्ड-२०१८’ को आयोजना हुने भएको छ । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आगामी जनवरी ५ तारिखमा उक्त अवार्ड आयोजना गरिने भएको हो । नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको कुरा आयोजक संस्थाका अध्यक्ष नवराज श्रेष्ठले बताएका छन् ।
विगत २ वर्षमा दुई संस्करण संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा नै सफलतापूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ । नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली सिनेमाको बजार प्रवर्द्धन, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन अवार्डको उद्देश्य रहेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को नेपाल संयोजक तथा नेपाल फिल्म सोसाइटीका मदु कुमार श्रेष्ठले अवगत गराएका छन् । अवार्डको तयारी तीब्र रुपमा भईरहेको कुरा नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले जानकारी गराएका छन् ।