तीज गीतको तयारीमा गीतकार भूपेन

गीतकार बि. के. भूपेन यतिबेला तीज गीतको तयारीमा लागेका छन् l उनले लगभग ५ वर्ष अगाडि आफ्नै शब्द, सङ्गीत र स्वरमा ‘साथी बन्यो नशा मेरो तिम्रो याद भुलाउनलाई’ बोलको पपगीत रेकर्ड गरी गीत-सङ्गीतको क्षेत्रमा पाईला बढाएका थिए l भरखरै भूपेनको शब्द, दुर्गा विरहीको लय तथा प्रीति आले र दुर्गा विरहीको स्वरमा तीजगीत ‘के गर्नु यो मेरो रुपैले, अहिलेसम्म घरबारै भएन’ रेकर्ड भएको छ l यस गीतको भिडियो छायांकन हुन बाँकी रहेको कुरा गीतकार भूपेनले जानकारी गराएका छन् l
पहिलो गीतको प्रसङ्ग उठाउँदै बाग्लुंगका सर्जक भूपेन भन्छन् – ‘पोखरामा छँदा धेरै साथीहरु सङ्गीत क्षेत्रका थिए l दैनिकी सांगीतिक माहोलमा बित्थ्यो l त्यहाँ हुँदा नै मैले धेरै सिर्जना गरिसकेको थिएँ, रेकर्ड मात्र काठमाण्डौ आएपछि भएको हो l मेरो पहिलो गीत चक्रपथस्थित विक्रम कार्कीको भेनश रेकर्दिंग स्टुडियोमा रेकर्ड भएको थियो l त्यसपछि लगातार ‘माया नगरे पनि, तस्बीर तिम्रो र दिनहरु’ बोलका ३ वटा गीत रेकर्ड भए l जसमा मेरै शब्द/सङ्गीत थिए भने २ वटामा स्वर पनि मेरै थियो l मेरा ४ वटा र २ वटा अरुका गरी ६ वटा गीतको एल्बम pain in live विकल्प क्रिएशनबाट बजारमा पनि ल्याइयो l तर भिडियो नबनेकोले गीतको प्रमोशन सोचेजस्तो भएन l’
लगभग २ वर्ष अगाडि भूपेनको शब्दमा ‘अंगालोमा बाँधी’ बोलको गीत रेकर्ड भएको थियो l जसमा राकेश सोनीले स्वर दिएका थिए l कुनैबेला पत्रकारितामा समेत सक्रिय, पेशाले सुनचाँदी गहना व्यावसायी भूपेन आफ्नो गीत लेखनका सन्दर्भमा यथार्थ खुलाउँदै भन्छन् -‘म सँग अहिले पनि ५ दर्जन भन्दा बढी गीतका शब्दहरु छन् l गीत लेख्छु भनेर कहिल्यै लेखिन, कुनै घटना या परिस्थितिले आफैं शब्दहरु फुरेपछि मात्र गीत लेख्ने गरेको छु l तर गीत कसरी रेकर्ड गर्ने ? प्रश्न यहाँनेर छ l हामी नाम नचलेका गीतकारसँग गीत माग्न कलाकारहरु आउँदैनन् l आफै लगानी गर्दा गीत हिट भएपनि गीतकारको लगानी उठ्ने अवस्था छैन l त्यही भएर मेरा त्यति गीत बजारमा आउन नसकेका हुन् l’ तथापि सिर्जनाकर्मलाई नत्याग्ने र सङ्गीत क्षेत्रबाट टाढा नरहने उनको चाहना छ l