-तुलसी गिरी ‘भावुक’
सुप्रसिद्ध सर्जक सन्तोष दुमी राईको रचना, सङ्गीत र स्वरमा रहेको गीत ‘एकछिन् ल’ को भिडिओ सार्वजनिक भएको छ । भिडिओ सर्जक/कलाकार सन्तोषकै युट्युब च्यानल SANTOSHDUMEE बाट डिजिटल बजारमा आएको हो। केहीदिन अघि मात्र ‘किङ’ स्टुडियोमा रेकर्ड भएको यो गीत स्टुडियोका प्राविधिक सुरेश पायल राई र मनोज सङ्सोनले संयुक्त रुपमा रेकर्ड गरेका हुन् । गीतमा राजु कार्कीको म्युजिक एरेन्ज, मिक्सिङ र माष्टरिङ रहेको छ ।
गीतमा युवती मन परेको छ तर दोहोरो माया बसेको छैन, युवतीको मनमा के छ पत्तो छैन । भेटघाट पातलिएको छ, हालखबर थाहा छैन । युवती झल्याकझुलुक बजारतिर, बाटोतिर कतै देखिन्छिन्, मन उनैतिर तानिएको छ, तर जाहेर गर्ने मौका मिलेको छैन । फरक प्रकृतिको एकतर्फी प्रेम अभिव्यक्ति रहेको, रमाईला कौतुहलता र जिज्ञाशाले भरिएको यो गीत रोमान्टिक र श्रुति माधुर्य छ ।
म्युजिक भिडिओमा गायक सन्तोष स्वयं प्रमुख कलाकारको रुपमा प्रस्तुत भएका छन् भने ड्रममा विज्ञान सुनुवारलाई, बाँसुरीमा अनुज माझी र करनदेव सुनुवारलाई, किबोर्डमा दिनेश गोपालीलाई र गितारमा आमोश मोक्तान र असल श्रेष्ठलाई देख्न सकिन्छ । गाउँले इन्टरटेनमेन्टको पोष्ट प्रोडक्समा निर्माण भएको यस म्युजिक भिडिओका सिनेमाटोग्राफर गंगाराम राई हुन् ।
गीतकार/गायक/सङ्गीतकार सन्तोषका ‘घामले आँखा खोलिसक्यो’, ‘रातभरि जून रुँदा’, ‘मुस्कुराई बस तिमी’, ‘निलो आकाश ढाकेर’, ‘सुलाम सिंसो’ ( दुमी गीत ), ‘पर्खि बस्नु है मलाई’, ‘बादलुको पर्दाभित्र’, ‘ईंकी तुम्लो रिदुम् हदुम्’ ( दुमी गीत ), मैले के भूल गरें र’, ‘नुगोबिताम नु आते आस्ता’ ( दुमी गीत ), ‘के नै रैछ र जिन्दगी’, ‘साल्पै राजा’, ‘एयर बस फोर्टी’ जस्ता गीत लोकप्रिय रहेका छन् ।













