लोक दोहोरीका महानायक शंकर बिसीको सङ्घर्षको कथा

-प्रकाश बराईली ‘अभिव्यक्ति’

नेपाली लोक दोहोरी म्युजिक भिडियो क्षेत्रका महानायक शंकर बिसीले केही दिन अघी नेपाल, अमेरिका र आफ्नो जन्मस्थान नेपालगञ्जको आफ्नो घरको तस्बिर सार्बजनिक गरे। शंकर बिसीले निर्देशन, अभिनय तथा नृत्य निर्देशन गरेका धेरै गीतहरु चर्चामा छन्। कुनैबेला उनलाई देश तथा विदेशमा कार्यक्रमहरूमा नेपालका प्राय मेला महोत्सबहरु भ्याई नभ्याई थियो। हाल सम्म १८ वटा देशहरूमा आफ्नो कलाकारिता पस्केर नेपाली मौलिक कला संस्कृतीलाई बिश्व सामु परिचित गराउन पनि शंकर बिसीको ठुलो योगदान रहेको छ। अर्को कुरा उनी लोक दोहोरी म्यूजिक भिडियो क्षेत्रमा प्रवेश नगरेको भए यति छिट्टै लोक दोहोरी म्यूजिक भिडियोले प्रगती गर्थेन कि भन्ने धेरैको भनाइ पनि छ।

उनले फिल्मी तरिकाले म्यूजिक भिडियो बनाएर लोक दोहोरीको म्यूजिक भिडियोलाई साँच्चै नै हेर्न लायक बनाए। त्यसपछि सुरु भयो फिल्मको गीतहरूमा समेत प्रतिस्पर्धा गर्ने वातावरणको सृजना पनि गरिदिए। यसको श्रेय शंकर बिसीलाई नै जान्छ। नेपाली चलचित्रका गीतहरूमा पनि उनले कोरियोग्राफी गरेको गीत सुर्के थैली खै पहिलो चोटी करोड क्लबमा प्रवेश गरेको थियो। लगभग ९२ वटा चलचित्रमा कोरियोग्राफि गरेका उनले सरर बेगमारी बेनीको बस आयो, जब साँझ पर्छ तिम्रो याद बढ्छ किन यस्तो हुन्छ मलाई, पिरतीमा पल्केर, मनको लाइटर सल्केर, पहिलो प्रेम प्रेमको पहिलो कम्पनी, निकै चर्चामा रहेका थिए।

बि.सं. २०५१ सालमा एस.एल.सी. दिएर काठमाडौं छिरेका शंकर बिसी सुरुमा नृत्य निर्देशक कमल राईसंग नृत्य सिकेपछि ६०/७० वटा चलचित्रमा ग्रुप डान्सरको रूपमा काम गरेका थिए र त्यसपछि बसन्तजंग रायमाझी, कमल राई जस्ता वरिष्ठ नृत्य निर्देशकहरूको सहायक नृत्य निर्देशक भएर काम गर्ने अवसर उनलाई प्राप्त भयो। त्यसपछि नेपाली चलचित्र कही मिलन कही बिछोड, सन्तानको माया, माझीदाई, मेघा जस्ता चलचित्रहरूमा लिड डान्स गरेर परिचित भए। केही समय पश्चात बेरोजगार चलचित्रमा नायकको भुमिकामा पनि अभिनय गरे। उनी बि.सं. २०६१/०६२ साल तिर म्यूजिक भिडियो तिर लम्किन पुगे।

कृष्ण फिल्म्समा पुर्वेली हे बैनी दन्ती मोहनी गीतबाट उनले प्रवेश गरे। जब सुपारी चाम्रो गीतमा उनले अभिनय तथा नृत्य निर्देशन गरे त्यसपछि उनलाई कहिल्यै पछाडी फर्केर हेर्नु परेन। उनले हाल सम्म ५ हजार देखि ५५ सय गीतहरूमा अभिनय, ६ हजार भन्दा बढी गीतहरूमा नृत्य निर्देशन र ९२ वटा नेपाली चलचित्रमा नृत्य निर्देशन गर्न सफल भए। नेपाली लोक दोहोरीका चर्चित गीतहरू सुपारी चाम्रो, लालु पाते नुघ्यो भुईतिर, पछ्यौरी लेउ बैना, देउरालीको भट्टी पसल, तिते करेली, ए काले दाई, नजाउ है सानु पधेरीमा, काफल पाकेको, हातमा रातो झोला, रातो पछ्यौरी, अचममै राम्रो नाच्छे मोरीले, लाला जी लगायत धेरै चर्चित गीतहरुमा शंकर बिसीले अभिनय तथा नृत्य निर्देशन गरेका छन्।

उनी अमेरिका भएपनि उनलाई अहिले लोक दोहोरी क्षेत्रले धेरै सम्झेको छ। उनी हाल अमेरिकामा छन् तर बेलाबेला उनी नेपाल आउने जाने गरिरहेका छन्। उनले आफ्नो फेसबुकको स्टाटसमा लेखेका कुराहरू पहिलाका घरको छानो चुहिने थियो। पानी परेर हामी सुत्न सकिन्थेन भनेर स्टाटस लेखेका छन्। त्यो स्टाटसले धेरैको मन छोएको छ। कला क्षेत्रमा लागेर धेरै प्रगती गर्न सकिन्छ र मनग्य कमाई गर्न सकिन्छ भन्ने शंकर बिसीले उदाहरण देखाएका छन्। शंकर बिसीलाई हाम्रो तर्फबाट अझै उन्नती प्रगतीको कामना।