-भर्जिनिया, अमेरिका ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को लामो समयदेखिको आफ्नै भवन निर्माण तथा खरिद गर्ने सपना साकार भएको छ। अमेरिकाको भर्जिनियास्थित मनाससमा खरिद गरिएको अनेसासको भवनको नोभेम्बर १४, २०२६ मा विशेष समारोहबीच विधिवत् उद्घाटन गरिएको छ। अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, बोर्ड अफ ट्रस्टी (बीओटी) का सभापति पदम विश्वकर्मा, केन्द्रीय अध्यक्ष लालगोपाल सुवेदी तथा भवन खरिदका लागि ऋणको ग्यारेन्टी प्रदान गर्ने बीओटी सचिव नारायण अधिकारी र कोषाध्यक्ष नेत्रबन्धु पोखरेलले संयुक्त रूपमा रिबन काटेर भवनको उद्घाटन गर्नुभएको थियो।

भवन खरिद प्रक्रियालाई संस्थाको दीर्घकालीन संस्थागत विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। कार्यक्रममा भवन खरिद समितिका संयोजक पुरु सुवेदीले खरिद तथा ऋण प्रक्रियाबारे जानकारी गराउनुभएको थियो। वक्ताहरूले यस उपलब्धिले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि अनेसासका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। समारोहमा संस्थाका पदाधिकारी, ट्रस्टी तथा आजीवन सदस्यहरू, विभिन्न राज्यबाट आएका साहित्यकार, समाजसेवी र नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।
कार्यक्रममा सदस्यहरूबाट आर्थिक सहयोग तथा नयाँ आजीवन र ट्रस्टी सदस्यता थपिने क्रमसमेत रहेको थियो। भवन उद्घाटनसँगै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्ती पनि साहित्यिक कार्यक्रमसहित मनाइएको थियो। अनेसासको आफ्नै भवन प्राप्तिलाई केवल एउटा भौतिक सम्पत्तिको उपलब्धि मात्र नभई प्रवासमा नेपाली भाषा, साहित्य र पहिचानलाई संस्थागत रूपमा संरक्षण गर्दै भावी पुस्तासम्म पुर्याउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।













