– विमल गिरी (बिर्तामोड- २, चारपाने, झापा। हाल: बेल्जियम, ब्रसेल्स)
नेपाली गीतसङ्गीतको इतिहासमा केही यस्ता नाम छन् जसलाई समयले कहिल्यै पुरानो बनाउन सक्दैन । ती नामहरू कुनै एउटा कालखण्डका मात्र हुँदैनन् । ती पुस्तौंपुस्तासम्म नेपाली मनमा उज्यालो भएर बाँचिरहन्छन् । यिनै अमर स्रष्टामध्ये एक हुन् विश्व बल्लभ । उनी गीतकार मात्र थिएनन् । उनी रेडियोका आत्मीय स्वर थिए । साहित्यका संवेदनशील साधक थिए । शब्दका धनी थिए । पीडालाई गीतमा बदल्न सक्ने दुर्लभ कलाकार थिए ।
कतिपय मानिसले जीवनमा धेरै सुख पाउँछन् तर स्मरणीय हुन सक्दैनन् । कतिपयले जीवनभर दुःख मात्र पाउँछन् तर त्यही दुःखलाई युगौँसम्म बाँच्ने सिर्जनामा रूपान्तरण गर्छन् । विश्व बल्लभ त्यस्तै भाग्यका यात्री थिए । नियतिले उनीबाट बाल्यकाल खोस्यो । आमाको माया खोस्यो । पारिवारिक सुख खोस्यो । जीवनसाथीको साथ खोस्यो । तर एउटा कुरा भने खोस्न सकेन । त्यो थियो उनका शब्दको उज्यालो । जब नातिकाजीको धुनमा अरुणा लामाको स्वरले ‘भाग्यले खुशी खोसेर लग्यो बदला लिएर, बाँच्दैछु सधैँ सम्झेर तिमी मुटु यो बालेर’ भन्ने गीत गुञ्जिन्छ तब त्यो गीत कुनै एउटा पात्रको कथा जस्तो लाग्दैन । त्यो त हजारौँ नेपाली मनको आफ्नै कथा बनेर सुनिन्छ । यही महानता नै गीतको पहिचान हो । जसलाई एउटाले लेख्छ तर सबैले आफ्नै जीवन ठान्छन् ।
विश्व बल्लभको जन्म पण्डित मुरलीधर भट्टराई र राममायाको कोखबाट तीन छोरामध्ये जेठाका रूपमा भयो । न्वारनमा उनको नाम विश्व बल्लभनाथ भट्टराई राखियो । पछि समयले उनको परिचय छोट्यायो तर उचाइ बढायो । उनी विश्व बल्लभ बने । यही नाम नेपाली गीतसाहित्यको इतिहासमा अमिट अक्षर बन्यो ।
उनको बाल्यकाल घरमै अध्ययन गर्दै बित्यो । पछि दरबार हाईस्कुलबाट एसएलसी र त्रिचन्द्र कलेजबाट स्नातक गरे । विद्यार्थी जीवनमै उद्घोषणतर्फ उनको आकर्षण बढ्दै गयो । कलेजका कार्यक्रममा बोल्ने क्रममा उनले नारायण गोपाल र रत्नशमशेर थापासँग परिचित हुने अवसर पाए । त्यो भेट एउटा सामान्य संयोग मात्र थिएन । त्यसले भविष्यको एउटा सशक्त गीतकार र रेडियोकर्मीको बाटो तयार गरिरहेको थियो । तर उनको जीवनको पहिलो पाठ सुखले होइन दुःखले लेखेको थियो । राणा शासनको कठोर समयमा उनका पिता राजनीतिक कारणले जेलमा थिए । माहिला दाजुको निधन भयो । किरिया गर्न पाउने अनुमति पाएपछि मात्र उनले पहिलोपटक आफ्ना पिताको अनुहार देखे ।
धेरै बालबालिकाको पहिलो संसार बुबाको काख हुन्छ । विश्व बल्लभका लागि भने जेलको ढोका पहिलो सम्झना बन्यो । त्यसपछि जीवनले अर्को कठोर मोड लियो । पिताले दोस्रो विवाह गरेपछि घरभित्र सम्बन्धका रङहरू फिका बन्दै गए । गरिबीले यति धेरै गाँज्यो कि कहिलेकाहीँ बाटोमा जसले जे दियो त्यही खाएर भोक मेटाउनुपर्थ्यो । अभावले शरीर मात्र होइन आत्मासमेत थिचिरहेको थियो । तर सबैभन्दा ठूलो आँधी अझै बाँकी थियो । उनकी आमा राममायाले गरिबी, अपमान र असह्य पीडाबाट मुक्त हुन आफ्नै जीवन अन्त्य गरिन् । त्यो दृश्य एउटा बालकको आँखाले देख्नुपर्यो । त्यो दिन एउटी आमाको मात्र मृत्यु भएन । एउटा बालकको सम्पूर्ण बाल्यकाल पनि त्यहीँ समाप्त भयो । जीवनभर निको नहुने घाउ त्यही दिन उनको मनमा बस्यो । तर त्यही घाउबाट शब्द उम्रिए । त्यही आँसुबाट गीत जन्मिए । त्यही पीडाले उनलाई अरूभन्दा फरक बनायो ।
दुःखले उनलाई भत्काएन । बरु अझ गहिरो बनायो । संयोगले एक दिन उनले रेडियो नेपालमा दमननाथ ढुङ्गानाको कविता वाचन गरे । त्यही स्वरले रेडियो नेपालको ढोका खोलिदियो । उनी उद्घोषक बने । कार्यक्रम सञ्चालन गर्न थाले । पछि प्रसारक बने । यादव खरेलले बाल कार्यक्रममा अवसर दिए । त्यो अवसरले उनको जीवनलाई नयाँ दिशा दियो । रेडियो नेपाल केवल उनको कार्यस्थल रहेन । त्यो उनको दोस्रो घर बन्यो । त्यहीँ उनले आफ्नो आवाजलाई पहिचान दिए र शब्दलाई सम्मान दिलाए । गीत लेख्ने यात्रा पनि त्यत्तिकै गहिरो हुँदै गयो । ‘कोही आएर सोधे फूल खै यहाँ झरिसकेछ भनिदेऊ’ भन्ने गीतले उनको आगमनको संकेत गर्यो । त्यसपछि ‘च्यातिदेऊ पानाभरि लेखिएका’ आयो । अनि ‘भाग्यले खुशी खोसेर लग्यो’ नेपाली सङ्गीतको अमर धरोहर बन्यो । यसपछि उनका शब्दहरू निरन्तर बगिरहे । ‘तिम्रो हाम्रो जिन्दगानी’, ‘मलाई जे सम्झ’, ‘सबैबाट फ्याँकिएको’, ‘पसलबाट बिकिसकेको म मान्छे’, ‘धेरै दिनको तिम्रो झझल्को’, ‘फूल हौ कि काँडा’ जस्ता गीतहरूले नेपाली समाजका अनेक भावलाई स्वर दिए ।
उनका गीतमा कृत्रिमता थिएन । जीवन आफैँ बोल्थ्यो । प्रेम आफैँ रोइरहेको हुन्थ्यो । बिछोड आफैँ गाइरहेको हुन्थ्यो । नारायण गोपालसँग उनको सम्बन्ध अत्यन्त आत्मीय थियो । दुवैले सँगै गीत रेकर्ड गर्ने धेरै योजना बनाए । तर समयले त्यो अवसर दिएन । उनी आफैँ हाँस्दै सम्झन्थे गरौँ गरौँ भन्दै समय बित्यो गीत भने बन्न पाएन । अधुरा सपनाले कहिलेकाहीँ पूरा भएका सफलताभन्दा धेरै गहिरो कथा बोकेका हुन्छन् ।
जीवनको उत्तरार्धमा उनले अर्को वियोग भोगे । उनकी जीवनसंगिनी हरिदेवी क्यान्सरका कारण संसारबाट बिदा भइन् । त्यसपछि उनी सम्झनासँगै बाँच्न थाले । बाहिर मुस्कान थियो । भित्र अनन्त एकान्त थियो । त्यो एकान्त पनि उनले शब्दमै रूपान्तरण गरे । वि संवत् २०८१ सालको असोजमा उनको पार्थिव शरीर पञ्चतत्त्वमा विलीन भयो । तर सिर्जना कहिल्यै मर्दैन । शब्दमा आगो लाग्दैन । गीतको मृत्यु हुँदैन । रेडियोका तरङ्गमा आज पनि उनको उपस्थिति महसुस हुन्छ । पुराना गीतका धुनमा उनी मुस्कुराइरहेका भेटिन्छन् । नेपाली साहित्यका हरफहरफमा उनी अझै हिँडिरहेका छन् । विश्व बल्लभलाई सम्झँदा एउटा गीतकार मात्र सम्झँदैनौँ । एउटा युग सम्झन्छौँ । एउटा रेडियो युग सम्झन्छौँ । एउटा त्यस्तो मानिस सम्झन्छौँ जसले जीवनका सबैभन्दा कठोर पीडालाई पनि सौन्दर्यमा बदलिदिए । उनले आफ्ना आँसु बेचेनन् । तिनलाई गीत बनाए । आफ्ना घाउ देखाएनन् । तिनलाई साहित्य बनाए । आफ्ना बिछोडलाई गुनासो बनाएनन् । तिनलाई अमर धुन बनाए । यसैले विश्व बल्लभ नेपाली गीतसाहित्यका शब्दशिल्पी मात्र होइनन् । उनी नेपाली संवेदनाका संरक्षक हुन् । रेडियोका अमिट स्वर हुन् । दुःखलाई सुन्दर बनाउन सक्ने कलाकार हुन् । उनी त्यस्ता स्रष्टा हुन् जसलाई समयले धेरै कुरा खोस्यो तर अन्ततः समयलाई नै आफ्ना शब्दले जिते ।
जबसम्म नेपाली मनमा प्रेम रहनेछ; जबसम्म बिछोडले आँखा रसाइरहनेछ; जबसम्म पुराना गीतहरूले हृदय छुनेछन्; तबसम्म विश्व बल्लभको नाम कुनै इतिहासको पानामा मात्र सीमित रहनेछैन । उनी नेपाली आत्माको धड्कन बनेर सधैँ जीवित रहनेछन् ।













