विश्व कीर्तिमानीहरुलाई उपराष्ट्रपतिद्वारा प्रमाणपत्र वितरण


विश्वकै अग्लो स्थान ५ हजार २० मिटर उचाईमा भिडिओ छायाङ्कन गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ज गर्न सफल नेपाली युवाहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । उपराष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले विश्व कीर्तिमानी नेपाली युवाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

टेक बहादुर राई (गायक), माया गुरुङ (गायिका), बुद्धिराज राई (गीतकार तथा निर्देशक), सृजना किराँती (मोडल) र शिखर जंग श्रेष्ठ (मोडल) लाई रेकर्ड होल्डरको प्रमाणपत्र र धन कुमार राई (सङ्गीतकार), राजु कार्की (एरेञ्जर), गंगाराम राई (सिनेम्याटोग्राफर), शिवराज जोशी र डम्बर सिंह राईलाई (बाद्यबादक) तर्फ सहभागिताको प्रमाणपत्र प्रदान गरिएको हो । गीतमा पूर्ण राईले गितार र टेक बहादुर राईले किबोर्डमा भूमिका निर्वाह गरेका छन् ।

सोलुखुम्बूको खारे (मेरापिक जाने बाटो) स्थित ५ हजार २० मिटरको उचाईमा ‘सुन्दर हिमाल’बोलको गीतको छायाङ्कन गरेर गिनिज बुकमा ‘द हाईएष्ट म्यूजिक भिडिओ अन ल्याण्ड’विधामा रेकर्ड राखिएको हो । सोही स्थानमै गीतको लाइभ रेकर्डिङ समेत गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति पुनले कीर्तिमानीहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पनि सफलताको शुभकामना व्यक्त गरे । उनले भने, ‘नेपालीले विश्व कीर्तिमान राख्नु निकै खुसीको कुरा हो । आगामी दिनमा पनि यस्तै सफलता मिल्दै जाउन् । मेरो शुभकामना छ ।’

विश्व किर्तिमानी समाजको आयोजनामा भएको प्रमाणपत्र हस्तान्तरण तथा बधाई ज्ञापन कार्यक्रममा समाजका अध्यक्ष सन्च बहादुर राई, किराँत कोयी कोयु राई सोदेलकिमका केन्द्रीय उपाध्यक्ष गीतादेवी राई लगायतको उपस्थिति रहेको थियो ।