-तुलसी गिरी ‘भावुक’
प्रसिद्ध लेखक/गीतकार डा. चन्द्र गिरीको संयोजकत्वमा ९ सदस्यीय ‘अमेरिका दशनामी समाज’ को तदर्थ समिति गठन भएको छ l समितिमा बिशाल भारती (हाई पोइन्ट, नर्थ क्यारोलिना), बलराम गिरी (टोरन्टो, क्यानाडा), सुमित्रा गिरी (बाल्टिमोर, मेरील्याण्ड), नारायण बन (सन्नीभिल, क्यालिफोर्निया), सन्तोष गिरी (सन्नीभिल, क्यालिफोर्निया), अर्जुन गिरी (केपकोड, म्यासाच्युसेट्स), सरोज पुरी (बाल्टिमोर, मेरील्याण्ड) र रोजी गिरी (स्टेट कलेज, पेन्सिलभेनिया) सदस्यको रुपमा रहेका छन् l
अमेरिका र क्यानाडामा बसोबास गरिरहेका दशनामी समुदायलाई एकताको सूत्रमा बाँध्न, सहभागिता अभिवृद्धि गर्न र संस्थागत संरचना निर्माणको दिशामा अग्रसर गराउनका लागि समाजको गठन गरिएको कुरा थाहा भएको छ।
प्राप्त जानकारी अनुसार अमेरिका तथा क्यानाडामा रहेका सम्पूर्ण दशनामीहरूको डेटाबेस निर्माण गर्नु, सबै सदस्यहरूलाई नेपाल दशनामी समाजमा आबद्ध गराउन पहल गर्नु, समाजको सामाजिक, शैक्षिक तथा पूर्वाधार निर्माण सम्बन्धी विविध कार्यमा प्रत्यक्ष सहभागिता र सहयोग पुर्याउनु यस समाजको प्रमुख उद्देश्य रहेको कुरा डुरहम, नर्थ क्यारोलिना बसोबास गर्दै आएका समितिका संयोजक डा. चन्द्र गिरीले जानकारी गराएका छन् l
समितिका संयोजक डा. गिरीका अनुसार समाजले विशेषत: नेपाल दशनामी समाजको केन्द्रीय कार्यालय भवन निर्माणका लागि सहयोग संकलन तथा समन्वय गर्ने, नेपालमा उत्पन्न हुन सक्ने आपतकालीन परिस्थिति (प्राकृतिक विपद, आकस्मिक घटनाहरू आदि ) मा राहत तथा सहयोगका लागि पहल गर्ने, विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउनका लागि आवश्यक व्यवस्था मिलाउने, आवश्यकता अनुसार नेपाल दशनामी समाजका लागि अमेरिका सम्पर्क माध्यम बन्ने, सुझाव र सल्लाह प्रदान गर्ने जस्ता कार्यहरु गर्ने छ । यस उद्देश्यलाई सफलतापूर्वक कार्यान्वयन गर्न तदर्थ समितिले अमेरिका र क्यानाडाभरि रहेका सम्पूर्ण दशनामी दाजुभाइ तथा दिदीबहिनीहरूलाई साथ, सहयोग र सुझावका लागि अनुरोध गरेको छ।
