मिठाराम के. सी. र सुनिताको स्वरमा ‘ललितपुरे दाइ’ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

वरिष्ठ लोकगायक मिठाराम के.सी. र लोकप्रिय गायिका सुनिता थेगिमको युगल स्वरमा रहेको गीत ‘ललितपुरे दाइ’(ललितपुरको चिनारी भाग-२) को भिडिओ लोकार्पण भएको छ l गत शनिबार ललितपुरको डिलाइट पार्टी भेन्युमा आयोजित एक औपचारिक समारोहमा सो म्युजिक भिडिओको लोकार्पण भएको हो l राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, ललितपुरले आयोजना गरेको सो लोकार्पण समारोह प्रतिष्ठानका उपाध्यक्ष विदुर घिमिरेको सभापतित्व एवं मदन पुरस्कार बिजेता वरिष्ठ साहित्यकार नवराज लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो l भिडिओ फूलचोकी कलाकर्मी प्रा. लि. नामक युट्युब च्यानलबाट शनिबार नै विश्वव्यापी रुपमा सार्वजनिक भएको थियो l

ललितपुर जिल्लाको सामाजिक, धार्मिक, ऐतिहासिक र प्राकृतिक महिमाको साथै पारम्परिक सीपको बारेमा बयान गरिएको यो गीतमा मिठाराम के. सी. को शब्दरचना एवं सङ्गीत र बलराम समालको सङ्गीत संयोजन रहेको छ भने भिडिओ वरिष्ठ कलाकार/नृत्य निर्देशक कृष्णभक्त महर्जनको निर्देशनमा छायाङ्कन  भएको हो l जसमा कुशल छायाकार/सम्पादक वीरेन्द्र भाट ‘विपिन’ को सिनेमाटोग्राफी र सम्पादन रहेको छ l भिडिओमा गायक मिठाराम के. सी. र रिना थापा मगर लगायतका कलाकारहरुले अभिनय गरेका छन् l

भिडिओ लोकार्पण समारोहमा सङ्घीय सांसद उदय समशेर राणा, बागमती प्रदेश सांसद रघुनाथ महर्जन, नेकपा एमाले ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्य लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम साहित्यकार रत्न विरही घिमिरेले सञ्चालन गरेका थिए l