-तुलसी गिरी ‘भावुक’
सुप्रसिद्ध गायक रुद्रसेन बिश्वकर्माले भोजपुरी भाषाको गीत ‘दे दन प्यार गोरी’ को भिडिओ सार्वजनिक गरेका छन् l गायक रुद्रसेनले आफ्नै अफिसियल युट्युब च्यानल RUDRASEN CREATION PVT. LTD. बाट हिजो सो म्युजिक भिडिओ डिजिटल बजारमा ल्याएका हुन् l रुद्रसेन स्वयंको शब्दरचना/सङ्गीत रहेको रोमान्टिक भावको यस गीतमा रुद्रसेन र प्रतिमा आर्याको स्वर रहेको छ भने प्रमोदजी इन्डियाले म्युजिक एरेन्ज र मिक्सिङ गरेका छन् l
प्रदिप कुमार रसाईलीको कोरियोग्राफी एवं निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा सागर लम्साल ‘बले’ र शिल्पा पोखरेलले प्रमुख कलाकारको रुपमा नृत्य/अभिनय गरेका छन् l ज्ञानेन्द्र शर्मा हुमागाईंको सिनेमाटोग्राफी र मिलन विश्वकर्माको दृश्य तथा रङ्ग सम्पादन रहेको यो म्युजिक भिडिओकी निर्मात्री नीर कुमारी विश्वकर्मा (सविना) हुन् l भिडिओ ड्रागन पिक्चर्सको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l
लगभग डेढ दशक अघिदेखि नेपाली, मैथिली, भोजपुरी लगायतका भाषामा गीत गाएर साङ्गीतिक क्षेत्रमा आब्बल पहिचान स्थापित गर्न सफल मिथिला क्षेत्रका सर्जक/कलाकार रुद्रसेनले गीत लेखन, सङ्गीत सिर्जना, गायन र अभिनय समेतमा आफूलाई उत्तिकै क्रियाशील गराउँदै आएका छन् l
