कर्णाली प्रदेशको महिमा बयान गर्दै सर्जक शंकर ढकाल

-तुलसी गिरी ‘भावुक’

कर्णाली प्रदेशको प्राकृतिक, धार्मिक, ऐतिहासिक र सामाजिक महत्व एवं सुन्दरताको बयान गरिएको गीत ‘कर्णाली हाम्रो प्रदेश’ को भिडिओ बजारमा आएको छ l यस प्रदेशका मनमोहक हिमाल, पहाड, ताल, नदीनाला, झरना बनजङ्गल, गाउँ-बस्ती, देवस्थल र ऐतिहासिक धरोहरका दृश्यहरु समेटिएको यो म्युजिक भिडिओले समग्र प्रदेशको चिनारी गराएको छ l शान्ति र समृद्धिको कामना गर्दै गीतकारले अनेक जातजातिको साझा बासस्थानको रुपमा कर्णाली प्रदेशलाई चिनाएका छन् l आफ्नो प्रदेशप्रति गर्व गरेका छन् l

शंकर ढकालको शव्दरचना एवं सङ्गीत रहेको यस गीतको सङ्गीत संयोजन विशिष्ट सङ्गीतकर्मी शिला बहादुर मोक्तानले गरेका हुन् भने गीतमा शंकर ढकाल, कुन्ति मोक्तान, टिका पुन र अर्जुन सुनामको स्वर रहेको छ l भिडिओ शंकर ढकालको निर्देशन, राजन राईको छायाङ्कन र वीरेन्द्र भाट ‘विपिन’ को सम्पादनमा तयार भएको हो l वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सन रहेको यस भिडिओमा दिपाशा बी.सी., शंकर ढकाल, टिका पुन र राजन न्यौपानेले अभिनय गरेका छन् l