तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८१ मा गायिका सुनिता बुढा क्षेत्री र गायक सूर्य खड्का उत्कृष्ट गायक गायिका घोषित भए । गायिका सुनिता बुढा क्षेत्रीले ‘पाउँदिन म छोरी’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् भने गायक सूर्य खड्काले ‘सीताका माइती बुद्धका देश’बाट उत्कृष्ट गायकको अवार्ड चुम्न सफल भएका हुन् । अवार्ड कार्यक्रममा ‘सीताका माइती बुद्धका देश’ र ‘काली पसमकी’ गीतले ह्याट्रिक गर्न सफल भए । ‘सीताका माइती बुद्धका देश’ गीतबाट सूर्य खड्का उत्कृष्ट गायक, विजय पुन उत्कृष्ट मोडल र दुर्गा पौडेल उत्कृष्ट छायाँकार घोषित भए । त्यस्तै ‘काली पसमकी’ गीतबाट प्रेम सापकोटा सोनु उत्कृष्ट गीतकार मौलिक तीज गीत, नवीन घर्ती मगर उत्कृष्ट भिडियो सम्पादक र स्मारिका ढकालले पपुलर म्यूजिक भिडियो मोडल अवार्ड चुम्न सफल भए ।

आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुसनको आयोजनामा भएको कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डमा प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । अवार्डका अध्यक्ष सबिता पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मा.पद्मा कुमारी अर्यालको हातबाट आ–आफ्नो क्षेत्रमा योगदान दिएका नारीहरुलाई सम्मान गरिएको थियो । अवार्ड कार्यक्रममा आर्टिष्ट अफ नेपाल त्रिरत्न नारी सम्मानबाट गायिका कुन्ती मोक्तान, गायिका लीलावती बुढा र गायिका पूर्णकला बिसीलाई सम्मान अर्पण गरिएको थियो ।

सोही कार्यक्रममा सौन्दर्यविद् सोनीका रञ्जितलाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय सौन्दर्यकला सम्मान अर्पण गरिएको थियो भने गीतकार गायिका थापालाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरिएको थियो । गायिकाद्वय कालिका रोका र तृप्ति खड्कालाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय गायन सम्मान प्रदान गरिएको थियो भने मोडल टीका जैसीलाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय कला सम्मान प्रदान गरिएको थियो । पत्रकारद्वय शारदा थापा र कल्पना रेग्मीलाई आर्टिष्ट अफ नेपाल कला पत्रकारिता सम्मान प्रदान गरिएको थियो । त्यस्तै सौन्दर्यकर्मी उन्नती शर्मालाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय सौन्दर्यकला सम्मान प्रदान गरिएको थियो भने समाजसेवी उर्मिला पौडेल आचार्यलाई आर्टिष्ट अफ नेपाल राष्ट्रिय सामाजिक सेवा सम्मान प्रदान गरिएको थियो ।

कृषि विकास बैंक तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डमा संगीतकार वीपी वाग्ले, गायिका शोभा पाण्डे र गीतकार डा.शिव सुवेदी निर्णायकको भूमिकामा थिए । सोही अवसरमा म्यूजिक खबर फाउन्डेसनको टिमको घोषणा गरिएको थियो । सबिता पोखरेलको अध्यक्षतामा स्थापना भएको म्यूजिक खबर फाउन्डेसनमा साहित्यकार राधेश्याम लेकाली, गीतकार लोकराज अधिकारी, संगीतकार सरोज कोइराला, गायिका मन्जु पौडेल, संगीतकर्मी बादल थकाली, निर्देशक प्रकाश भट्ट, गीतकार सुमन पण्डित रहेका छन् भने कानूनी सल्लाहकार राम भट्टराई रहेका छन् ।

अवार्ड कार्यक्रमको अवसर पारेर ‘म्यूजिक खबर फाउन्डसन’को आजीवन सदस्यता समेत प्रदान गरिएको थियो । गायिका सन्जु न्यौपाने, गायक हरिराम परियार, संगीतकार दिपक शर्मा, गायिका तथा मोडल रितु तामाङलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस अवार्डलाई कृषि विकास बैंकले मुख्य प्रायोजन गरेको छ । त्यस्तै गोकर्र्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, बीजी मल, बीजी बैंकट, टोखा नगरपालिका, मनकामना वेभरेज, सफ्टी हाइजीन लगायत व्यवसायिक प्रतिष्ठानले अवार्डमा प्रायोजनको भूमिका खेलेका छन् ।

अवार्डमा सर्वोत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ कृष्ण लामिछाने (दुःखी करिम), सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत संयोजक कृष्ण केसी (जिन्दगानी के रैछ), सर्वोत्कृष्ट तीज गीत नवप्रतिभा मोडल दिव्यानी वली (राजै), सर्वोत्कृष्ट तीज दोहोरी गीत शब्द विशाल क्षेत्री (सारीको आँचल), सर्वोत्कृष्ट तीज दोहोरी गीत संगीत भानुभक्त ढकाल (ढल्काएर छड्के तिलहरी)ले अवार्ड चुम्न सफल भए । त्यस्तै सर्वोत्कृष्ट तीज दोहोरी गीततर्फ जिन्दगानी चलेको छ जसोतसो गीतबाट शम्भू कुँवरले अवार्ड चुम्न सफल भए ।

सर्वोत्कृष्ट तिज गीत भिडियो मोडल महिलातर्फको अवार्ड नारायणी खत्रीले ‘आफ्नै पारामा’ प्राप्त गरिन् भने पपुलर मोडलको अवार्ड कालि पसमकी गीतबाट स्मारिका ढकालले चुम्न सफल भइन् । सर्वोत्कृष्ट तीज गीत भिडियो श्रृंगारको अवार्ड सरिता मगरले आउन राजा गीतबाट प्राप्त गर्न सफल भइन् भने सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफरको अवार्ड विक्रम चौहानले छमछमी नाचौं बरिलै गीतबाट प्राप्त गर्न सफल भए । त्यसैगरी सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशकको अवार्ड मै छोरीलाई गाह्रो भो गीतबाट स्मृति तिमिल्सिनाले प्राप्त गरिने भने सर्वोत्कृष्ट मौलिक तीज गीत मिक्सिङको अवार्ड कर्मैमा छैन गीतबाट कुमार रानाले प्राप्त गरे ।

त्यस्तै अवार्डमा सर्वोत्कृष्ट मौलिक तीज गीत संगीत संयोजनको अवार्ड भने झलक संगीतम्ले कर्मैले घुमायो गीतबाट अवार्ड चुमे । सर्वोत्कृष्ट तीज गीत मौलिक शब्दतर्फ प्रेम सापकोटा सोनुले ‘काली पसम कि’ गीतबाट अवार्ड चुम्न सफल भए । त्यस्तै सर्वोत्कृष्ट तीज गीत मौलिक संगीतको अवार्ड गम्किदे मादलुबाट सरोज कोइरालाले प्राप्त गरे भने सर्वोत्कृष्ट तीज गीत मौलिक गायिकाको अवार्ड करिम गीतबाट जानकी तारमी मगरले चुम्न सफल भइन् । त्यस्तै अभिनेत्री पनाह अधिकारीले मल्टिट्यालेन्ट मोडलको अवार्ड प्राप्त गर्न सफल भइन् । सर्वोत्कृष्ट मौलिक तीज गीत एलिना चौहानको मनको परेको मान्छेले प्राप्त गर्यो भने सर्वोत्कृष्ट डायस्पोरा गीत संगीता थापा मगरको लै बरिलै लै बन्न सफल भयो । सर्वोत्कृष्ट डायस्पोरा गीतकारको अवार्ड लाली जोवन गीतबाट निर्मला राना मगरले चुम्न सफल भइन् भने जुरी अवार्ड मोडलतर्फको अवार्ड रितु तामाङले बबाल तीजबाट प्राप्त गरिन् ।

गीतसंगीतका विभिन्न २२ विधामा आयोजना भएको उक्त अवार्डमा गीतसंगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । अवार्डलाई प्रिज्म टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रमलाई सेसेमी लिम्बुले संचालन गरेकी थिइन् ।