‘उपत्यकाव्यापी छैटौं अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता-२०८१’ भव्य रुपमा सम्पन्न

-प्रकाश बराईली ‘अभिव्यक्ति’

हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर नेरिक एकेडेमीले आयोजना गरेको ‘उपत्यकाव्यापी छैटौं अन्तर विद्यालय मौलिक तीज नृत्य प्रतियोगिता-२०८१’ भब्य रुपमा सम्पन्न भएको छ । प्रतियोगिता नेरिक एकेडेमीको प्राङ्गणमा भदौ १ गतेका दिन सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका गरी ३२ भन्दा बढी विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा १२ वर्षदेखि १६ बर्ष उमेर समूहका र कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र भाग लिएका थिए । प्रतियोगितामा वरिष्ठ कलाकार मिथिला शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने निर्णायकहरुमा खड्क बुढा, सुनिल थापा र रिना थापा मगर रहेका थिए ।

प्रतियोगितामा पहिलो हुनेलाई २० हजार रुपैया र ट्रफी, दोस्रो हुनेलाई १५ हजार रुपैया र ट्रफी, तेस्रो हुनेलाई १० हजार रुपैया र ट्रफी, चौथो र पाँचौंलाई जनही ५, ५ हजार रुपैया र ट्रफीद्वारा पुरस्कृत गरिएको थियो भने उत्कृष्ट १० लाई ट्रफी र बेष्ट कोरियोग्राफरलाई ५ हजार रुपैया र ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगितामा हिम रश्मी स्कूल पहिलो, नवीन ज्योति स्कूल दोस्रो, भेधभायस स्कूल र काठमाडौ जेभियर स्कूल तेस्रो, ब्राईट एञ्जल स्कूल चौथो, नवोदित स्कूल पाँचौं, न्यु नलेज स्कूल छैटौं, गोल्डेन पिक स्कूल सातौँ, एञ्गल लर्ड स्कूल आठौं, ग्रीन हिल्स र नेशनल मोडल स्कूल नवौं र कोटदेवी स्कूल दशौं स्थानमा पर्न सफल भएका थिए भने बेष्ट ड्रेसतर्फ एञ्गल लर्ड स्कूल, बेष्ट कोरियोग्राफीतर्फ ईसान श्रेष्ठ सम्मानित भएका थिए ।

विद्यार्थीहरुलाई नकारात्मक कुराहरुलाई छोडेर सकारात्मक भावनातिर प्रेरित गर्दै देश, समाज र संस्कृतिप्रति सकारात्मक भावना पैदा गर्नुका साथै मौलिक संस्कृतिको जगेर्ना होस् भनी सो प्रतियोगिताको आयोजना गरिएको कुरा नेरिक एकेडेमीका प्रिन्सिपल मिलन कँडेलले बताए ।