शब्दयात्रा प्रकाशनका तर्फबाट अभिभावकविहीन ७ बालबालिकालाई छात्रवृत्ति

शब्दयात्रा प्रकाशनका तर्फबाट मानव कल्याण समाज (सेवाघर) का सातजना विद्यार्थीहरुले छात्रवृत्तिको रकम प्राप्त गरेका छन् l आज असार ३ गते निर्जला एकादशीका दिन प्रकाशनका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार/भाषाविद् हरि मञ्जुश्री सहितको प्रतिनिधि मण्डलले मानव कल्याण समाज (सेवाघर) मा गई त्यहाँ रहेका सातजना विद्यार्थीलाई प्रतिविद्यार्थी ६ हजार रुपियाँका दरले छात्रवृत्तिको रकम उपलब्ध गराएको हो ।

प्राप्त जानकारी अनुसार पाँचजना विद्यार्थीका लागि सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले ३० हजार रुपियाँ र दुईजनाका लागि डा. छत्रपति दाहालले १२ हजार रुपियाँ उपलब्ध गराएका छन् । छात्रवृत्तिको रकम र प्रमाणपत्र शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष मञ्जुश्रीले हस्तान्तरण गरेका थिए ।

सो अवसरमा कृष्णमणि कुइकेलले पारस्परिक सेवा समन्वय सन्जालका तर्फबाट मानव कल्याण समाज (सेवाघर) लाई आभारपत्र प्रदान गरेका थिए । मानव कल्याण समाज (सेवाघर) मा छात्रवृत्तिको रकम हस्तान्तरणका लागि शब्दयात्रा प्रकाशनका तर्फबाट हरि मञ्जुश्री, गीता मञ्जुश्री, कृष्णमणि कुइकेल, सङ्गीता केसी र खाइबा लामा गएका थिए । प्राप्त समाचार अनुसार सफलता मानव, खुसी मानव, आनन्द मानव, सम्राट मानव, केदार मानव, समीक्षा मानव र शाश्वत मानवले छात्रवृत्ति प्राप्त गरेका छन् l छात्रवृत्ति पाउने सबैजना अभिभावकविहीन बालबालिका भएको कुरा थाहा भएको छ l

छात्रवृत्ति पाउने सबै बालबालिकाहरूले भविष्यमा यस देशको असल नागरिक भई अभिभावकविहीन अन्य बालबालिकालाई सहयोग गर्नेछन् भन्ने कुरामा शब्दयात्रा प्रकाशन परिवार, इ. रोशन मञ्जुश्री अधिकारी र डा. छत्रपति दाहाल विश्वस्त रहेको कुरा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले बताएका छन् l