११ औं म्यूजिक खबर अवार्डमा देवकोटालाई दीर्घ साधना

श्री केश ११ औं ‘म्यूजिक खबर म्यूजिक अवार्ड २०८०’ मा प्रतिष्ठित गीतकार चूडामणि देवकोटालाई दीर्घ साधना सम्मान अर्पण गरिएको छ । गीतकार देवकोटालाई नगद राशि ५१ हजार रुपैया सहित ‘म्यूजिक खबर दीर्घ साधना सम्मान’ अर्पण गरिएको हो । पाँच दशकभन्दा लामो समयदेखि गीत र साहित्यमा जीवन समर्पण गरेवापत योगदानको कदरस्वरूप देवकोटालाई सम्मान गरिएको कुरा थाहा भएको छ l

त्यसैगरी अवार्ड समारोहमा पप सम्राट ओम बिक्रम विष्टलाई ‘म्यूजिक खबर डायस्पोरा सङ्गीत सम्मान’ अर्पण गरिएको थियो । विदेशमा रहेर पनि नेपाली कला-संस्कृति, गीत-सङ्गीत र साहित्यको श्रीवृद्धिमा निरन्तर योगदान पुर्याएवापत उनलाई सो सम्मान अर्पण गरिएको कुरा आयोजकले बताएका छन् l तीन दशक भन्दा लामो समयदेखि गायन, सङ्गीत र सङ्गीत संयोजनको माध्यमले योगदान पुर्याउने अशोक कुमार राईलाई ‘म्यूजिक खबर रजत सङ्गीत सम्मान’ अर्पण गरिएको थियो ।
‘म्यूजिक खबर दशक सङ्गीत सम्मान’बाट लोकप्रिय कलाकारद्वय राजु परियार र रिता थापा मगरलाई सम्मान गरिएको थियो । दुई दशकभन्दा लामो समयदेखि यस क्षेत्रमा क्रियाशील रही सधैं चर्चाको शिखरमा रहेकाले कलाकार परियार र थापालाई सो सम्मान अर्पण गरिएको बताईएको छ l त्यस्तै लोकप्रिय गायक, सर्जक बैकुण्ठ महतलाई ‘म्यूजिक खबर युवा प्रतिभा सङ्गीत सम्मान’ र बाल गायक अशोक दर्जीलाई ‘म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान’ अर्पण गरिएको थियो ।

समारोहमा तीन दशक लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार डब्बु क्षत्री र सुदर्शन प्रसाद आचार्यलाई ‘म्यूजिक खबर सङ्गीत पत्रकारिता सम्मान’ अर्पण गरिएको थियो । उनीहरुलाई नगद राशि ५ हजार ५ सय ५५ रुपैया सहित सम्मान अर्पण गरिएको हो । प्रवासमा रहेर पनि नेपालीहरुको सुख-दुःखको सारथि बन्दै आएका व्यवसायी/समाजसेवी विष्णु शाही ठकुरीलाई ‘म्यूजिकखबर सामाजिक व्यक्तित्व सम्मान’ अर्पण गरिएको थियो । कार्यक्रममा राष्ट्रिय, पप, आधुनिक, लोकदोहोरी र चलचित्र क्षेत्रका विभिन्न ३८ विधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गरिएको थियो । विशिष्ट कला साधकहरुको सहभागिताले गर्दा नै ११ औं वर्षसम्म अवार्डले निरन्तरता पाएको र गीत-सङ्गीत क्षेत्रमा क्रियाशील स्रष्टा, कलाकारहरुलाई सम्मान तथा प्रोत्साहनको कार्य गर्न पाएकोमा म्यूजिक खबर परिवार सदैव ऋणी रहेको कुरा अवार्डका अध्यक्ष सुमन पण्डितले बताए । अध्यक्ष पण्डितले कार्यक्रम सम्पन्न पार्न सहकार्य गर्ने प्रायोजक एवं प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति पनि आभार प्रकट गरेका छन् l कार्यक्रमको सञ्चालन गायिका मन्जु पौडेल र पत्रकार निराजन भण्डारीले गरेका थिए ।

कार्यक्रममा सम्मानित गीतकार राजेन्द्र थापा, सम्मानित गायिका तीर्थ कुमारी थापा, प्रतिष्ठित कवि/गीतकार तथा पूर्व मन्त्री एस्पी कोइराला, पूर्व मुख्य सचिव बिमल कोइराला, उपरथी डा. आशबहादुर तामाङ, प्रतिष्ठित अभिनेत्री भुवन चन्द, बसुन्धरा भुसाल र चैत्यदेवी सिंह, प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका पूर्व रजिष्ट्रार विसु कुमार केसी, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, रेडियो नेपाल बोर्ड सदस्य सीताराम पोखरेल, नेपाल साङ्गीतिक सङ्घका अध्यक्ष मिलन मोक्तान लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।