‘डार्लिङ् नभन’ को चर्चा नसेलाउँदै ‘शिरफुल चट्टै’ लिएर आए संगम लिम्बू

-तुलसी गिरी ‘भावुक’

आफ्ना हरेक सिर्जनामा फरक स्वाद र प्रस्तुति पस्कन मन पराउने गायक संगम लिम्बू भर्खरै रोमान्टिक भावको नयाँ गीत ‘शिरफुल चट्टै’ को भिडिओ लिएर श्रोता/दर्शकमाझ आएका छन् l संगम स्वयंकै शब्दरचना, ताराप्रकाश लिम्बूको सङ्गीत, सविन लिम्बूको सङ्गीत संयोजन र चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको यस गीतमा संगम लिम्बू र कैशिला लिम्बूले स्वर दिएका छन् l एक अर्काप्रतिको प्रेम र समर्पण भाव व्यक्त गरिएको यस गीतमा दुईमुटु एक धड्कन बन्ने र एक अर्काको खास मान्छे भएर जीवनभर सँगै जिउने चाहना व्यक्त गरिएको छ l

ढकमक्क फुलेका रङ्गीबिरङ्गी गुराँसे वनका मनमोहक दृश्यहरु समेटिएको यो भिडिओ दिनेश माङ्मु लिम्बूको कोरियोग्राफी/निर्देशनमा निर्माण भएको हो l दर्शकहरुको अपार माया पाईरहेको सागर सुब्बाद्वारा निर्देशित लिम्बू भाषाको चलचित्र ‘लोजिमा’ की नायिका बिमला खजुम लिम्बू र लोकप्रिय कलाकार आशिष लिम्बूको अभिनय रहेको यो भिडिओ गीतकार/गायक संगम लिम्बूकै अफिसियल युट्युब च्यानल SANGAM LIMBU बाट हालै डिजिटल बजारमा आएको हो l जसमा सुमन तामाङको छायाङ्कन र अनिल रानाको सम्पादन रहेको छ l युट्युबमा अपलोड भएको छोटो समयमै लोकप्रिय भएको यो भिडिओले उत्साहजनक भ्युज पाईरहेको छ l

आफ्नो मुख्य विधा गायन भएपनि शब्द लेखन र सङ्गीतमा समेत उत्तिकै कुशल संगमले यदाकदा अभिनय पनि गर्दै आएका छन् l उनी आफ्ना गीत प्राय: आफैं लेख्छन् l संख्या भन्दा स्तरीयतामा विश्वास गर्ने उनी लामो समयको मेहेनत पछि मात्र आफ्नो सिर्जना सार्वजनिक गर्ने गर्छन् l

बहुआयामिक प्रतिभाका धनी संगमले यसअघि लोकजुहारी, पप, आधुनिक, लिम्बूभाषा लगायत विविध शैलीका गीतमा स्वर दिएका छन् भने उनका ‘जाउँ साइँली सरर इलाम बजारमा, पोखरा पनि उजाड लाग्छ, डार्लिङ् नभन, निङ्साङ पोक्लछ’ (लिम्बूभाषा) लगायतका गीत सर्वाधिक लोकप्रिय छन् l गायक बन्ने सपना बोकेर २०५३ सालमा पाँचथरबाट काठमाण्डौ प्रवेश गरेका संगम सानैदेखिको आफ्नै रहर र अथक मेहेनतले यहाँसम्म आईपुगेका कलाकार हुन् l