न्युयोर्कमा सम्पन्न भयो ‘कृष्ण काफ्ले साङ्गीतिक साँझ´

२ महिनादेखि अमेरिकाका विभिन्न शहरहरुमा साङ्गीतिक प्रस्तुति दिँदै आएका चर्चित गायक कृष्ण काफ्लेको `कृष्ण काफ्ले साङ्गीतिक साँझ´ अमेरिकाको न्यूयोर्कमा रहेको बाजेको सेकुवा रेष्टुरेण्टमा भव्यताका साथ सम्पन्न भएको छ । चर्चित म्यूजिक भिडिओ निर्देशक शिव बिक, गीतकार प्रकाश सुवेदी, नायिका/गायिका तथा अमेरिकन कलाकार सङ्घकी अध्यक्ष वसन्ती राई, चर्चित हास्यव्यङ्ग्य कलाकार तथा जादुगर महादेव त्रिपाठी, दिनेश सुनार पार्कर सहितको प्रस्तुति रहेको सो कार्यक्रममा न्यूयोर्कमा रहेका समाजसेवी, व्यावसायी तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

दर्शक तथा श्रोतालाई मनोरञ्जन दिने क्रममा गायक कृष्ण काफ्लेले सके हसाउँछु, देख न चम्पा, हानेँ मैले झटारो, चाखुम् चाखुम्, मैले बोलेको छैन ढाँटेर, पर्ख पर्ख मायालु, लगायत दर्जन भन्दा बढि गीत गाएका थिए भने गायक काफ्लेलाई युगल गायनमा वसन्ती राईले र नृत्यमा शिव बिक र वसन्ती राईले साथ दिएका थिए । कार्यक्रमको शुभारम्भमै गीतकार प्रकाश सुवेदीले राष्ट्रिय भावका सहित केही रचना वाचन गरेका थिए भने कार्यक्रमको बिच बिचमा कार्यक्रमका सञ्चालक समेत रहेका कलाकार महादेव त्रिपाठीले आफ्ना ठट्यौली प्रस्तुति मार्फत दर्शकहरुलाई हँसाईरहेका थिए ।

गायक कृष्ण काफ्लेलाई न्यूयोर्कमा स्वागतार्थ आयोजना गरिएको कार्यक्रममा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी नेपाली अमेरिकन कलाकार सङ्घकी अध्यक्ष वसन्ती राईले लिएकी थिइन् । कार्यक्रममा चर्चित गायक बिमल डाँगी, गायिका सङ्गीता थापा सहित न्यूयोर्कलाई कर्मथलो बनाउँदै आएका अन्य कलाकारहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।