डा.भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८०’ द्वारा सम्मान गरिने

गीतकार संघ नेपालले आफ्नो स्थापना दिवस जेठ १४ गतेको अवसर पारेर प्रतिष्ठित गीतकार डा.भोला रिजाललाई ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८०’ अर्पण गर्न लागेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै एक लाख ५१ हजार राशीसहितको यो सम्मान अर्पण गर्ने बताएको छ ।

त्यसैगरी अमेरिकामा कार्यरत पद्मा लिंखा मगरलाई डायस्पोरा गीतकार सम्मान प्रदान गरिने भएको छ । गीतकार मगरलाई १५ हजार राशिसहितको सम्मान प्रदान गरिनेछ । त्यस्तै विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मानबाट जनकपुर निवासी अशोक दत्तलाई प्रदान गरिने भएको छ । गीतकार दत्तलाई २५२५२ नगद राशिसहित सम्मान प्रदान गरिने गीतकार संघ नेपालले जनाएको छ ।

त्यस्तै २०८० मा प्रकाशित भएको दश गीतहरुबाट एक गीतलाई वर्ष गीत पुरस्कार प्रदान गरिनेछ । ५७ हजार नगद राशि रहेको ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कारका लागि दश गीतकारहरुको नामावली छनोट गरिएको छ । उक्त दशमध्येबाट एक जनाले उक्त पुरस्कार प्राप्त गर्नेछन् । जसमध्ये मदन माबोको आमा, विष्णु भण्डारीको चाहना हो, डा.ओमकृष्ण प्रसाईंको पिता, ध्रुव खनालको रानी तालको, ज्ञान प्रसाद भट्टराईको माटोको माया, सियरा आचार्यको तिमीलाई, किसन सुवेदीको मुटु रेटियो, सबिता पोखरेलको एक चिम्टी सिन्दूर, डा.विष्णुमूर्ति भट्टराईको मुटुमै घाउ र शान्तिराम भट्टराईको नजरको वाण गीत रहेका छन् ।

त्यसैगरी तीन वटा गीतका पुस्तक पुरस्कारका लागि छनौट भएका छन् । जसमा पूर्णबहादुर साउद ‘शिरीष’को आधा आधी, जनक वाग्लेको ‘मैना चरी कहाँ गई’ र अगम विकरालको ‘यादको मुच्र्छना’ चयन भएका छन् । यी मध्येबाट एक जनाले ‘जगत मर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार’ नगद ५७ हजार राशिसहित प्रदान गरिने भएको छ ।

आगामी जेठ १४ गते गीतकार संघ नेपालको स्थापना दिवसको अवसर पारेर उक्त सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ । कार्यक्रम राष्ट्रिय नाचघर जमलमा आयोजना गरिने संघले जनाएको छ ।