अनेसास डीसी मेट्रो च्याप्टरको अध्यक्षमा जगन्नाथ पौडेल निर्वाचित

वासिङ्टन डीसी–  अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वासिङ्टन डीसी मेट्रो च्याप्टरको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि जगन्नाथ पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शकुन्तला अधिकारी, उपाध्यक्षमा गोमा न्यौपाने, महासचिवमा रामहरि फुयाल, सचिवमा प्रकाश सुवेदी र कोषाध्यक्षमा अनु पाण्डे चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा रामशरण हुमागाईं, डा. प्रेमप्रसाद शर्मा पौडेल, देवेन्द्र अधिकारी, रमेश खनाल, अस्मिता सुवेदी, हरिकृष्ण अधिकारी र रमेशप्रसाद धमला निर्वाचित हुनुभएको छ।

अनेसासको ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको डीसी मेट्रो च्याप्टरलाई संस्थाको महत्वपूर्ण च्याप्टरका रूपमा लिने गरिन्छ। करिब ३५ वर्षअघि अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको सक्रियता र नेतृत्वमा वासिङ्टन डीसीमै संस्थाको स्थापना भएको थियो। त्यसैले पनि यस च्याप्टरको नेतृत्व चयनलाई अनेसासको संस्थागत इतिहास र भावी गतिविधिका दृष्टिले विशेष महत्वका साथ हेरिएको छ।

नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली साहित्यको पहिचान विस्तार गर्ने उद्देश्यसहित स्थापित अनेसासले विभिन्न देशमा रहेका आफ्ना च्याप्टरमार्फत साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ। यस सन्दर्भमा डीसी मेट्रो च्याप्टरको भूमिका संस्थागत गतिविधि र साहित्यिक अभियानका हिसाबले महत्वपूर्ण रहँदै आएको छ।

नवनिर्वाचित कार्यसमितिमा साहित्य, भाषा, संस्कृति, गीतसङ्गीत तथा सामाजिक क्षेत्रमा राम्रो अनुभव सँगालेका व्यक्तिहरूको प्रतिनिधित्व रहेको छ।  नयाँ नेतृत्वले नियमित कार्यक्रमलाई निरन्तरता दिनुका साथै विशेषगरी प्रवासमा जन्मिएका र  हुर्किंदै गरेका नयाँ पुस्तामा नेपाली भाषा र साहित्यप्रतिको चासो रुचि अभिवृद्धि गर्नु, नेपाली स्रष्टाका सिर्जनालाई अन्तर्राष्ट्रिय साहित्यिक स्तरसम्म पुर्‍याउनमा र विभिन्न पुस्ताका सर्जकबीच सहकार्यको वातावरण निर्माण गर्नु विशेष खालका कार्यक्रम ल्याउने उद्देश्य रहेको कुरा नवनिर्वाचित सचिव प्रकाश सुवेदीले बताउनुभयो।