-तुलसी गिरी ‘भावुक’
बल्लभ कट्टेलको एकल शव्दरचना र शंकर थापा ‘स्माइल’ को एकल सङ्गीतमा रहेको गीति एल्बम ‘गन्तव्य’ को लोकार्पण गरिएको छ l गीतकार सङ्घको आयोजनामा जमलस्थित सांस्कृतिक संस्थानमा शुक्रबार सम्पन्न सो लोकार्पण समारोहमा एल्बमको शीर्ष गीत ‘हाम्रो यात्राको गन्तव्य’ को भिडिओ प्रदर्शन गरिएको थियो भने सङ्ग्रहित अन्य ४ गीतको अडियो सुनाईएको थियो l क्यानडामा छायाङ्कन भएको यस म्युजिक भिडिओमा युवराज अधिकारीको निर्देशन/सम्पादन रहेको छ भने मनोज वि.के. र पूजा जिसीले अभिनय गरेका छन् ।
एल्बममा ‘हाम्रो यात्राको गन्तव्य, तिम्रो बाटो हेर्ने बानी, आँसु पनि पानी जस्तै, तिमी नै तिमी र म हिँडेको यो बाटो’ गरी ५ वटा गीत समावेश गरिएको छ l जसमा अञ्जु पन्त, जगदीश समाल, प्रवीण बेडवाल, सुरेश लामा र स्माइल दासले स्वर दिएका छन् l ‘गन्तव्य’ गीतकार कट्टेलको पहिलो गीति एल्बम हो l

आयोजक संस्थाका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व तथा सङ्घका सल्लाहकार विशिष्ट गीतकार/कवि एवं पूर्वमन्त्री एस्पी कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न सो लोकार्पण समारोहमा विशिष्ट अतिथिका रुपमा वरिष्ठ गीतकारद्वय ज्ञानेन्द्र गदाल र चूडामणि देवकोटाको उपस्थिति रहेको थियो l समारोहमा सङ्घका उपाध्यक्ष रमेश कोइरालाले स्वागत मन्तव्य राखेका थिए भने सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले एल्बममा समावेश पाँचवटै गीतको रचनात्मक शील्प, सङ्गीत र गायनको बारेमा शुक्ष्म र गहन समीक्षा गरेका थिए l

गीतकार कट्टेलले समारोहलाई सम्बोधन गर्दै २-३ कक्षामा पढ्दैदेखि आफूले गीत-कविता रचना गर्न थालेको र अहिले रेकर्ड भएका सबै गीतहरु धेरै पहिला नै रचना गरेको कुरा जानकारी गराए l धेरै अघिदेखि गीत लेखनलाई निरन्तरता दिइरहेको भएपनि संयुक्त राष्ट्रसङ्घ अन्तर्गतका विभिन्न संस्थामा रहेर काम गर्ने सिलसिलामा २१ वर्षसम्म विदेशमा रहेकोले सो अवधिमा गीत रेकर्ड गर्ने अवसर नमिलेको कुरा उनले बताए l समारोहमा वक्ताहरुले गीतकार कट्टेलको सिर्जनशीलताको खुलेर प्रशंसा गर्दै सङ्गीतकर्मलाई निरन्तरता दिन सुझाव दिएका थिए l उनले एल्बमसँग सम्बन्धित सर्जक-कलाकार तथा कार्यक्रम आयोजक संस्था गीतकार सङ्घ नेपालप्रति आभार प्रकट गर्दै धर्मपत्नी शैलु केसी तथा छोरा आदित कट्टेललाई पनि विशेष धन्यवाद दिए ।

समारोहमा प्रा.डा. मदन कोइराला, पर्सा जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसी, संयुक्त राष्ट्रसंघ सम्बद्ध संस्था ‘रनभ्यान’का अध्यक्ष विष्णुगोपाल खत्री, साङ्गीतिक सङ्घ नेपालका अध्यक्ष मिलन मोक्तान, नारायण गोपाल सङ्गीत कोष तथा तारादेवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ सङ्गीतकार तथा कवि गोपाल कुमार मैनाली (गाउँले), सङ्गीतकर्मीहरु प्राश्ना शाक्य, निशा देसार, मनमाया पंगेनी, अम्बिका गुरुङ, भरत बमजन, हरिराम पौडेल, रामेश्वर केसी, रविन्द्र आशिष शैली, सञ्चारकर्मीहरु हेम सुवेदी, सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’, राजु बोहरा, प्रकाश बराइली ‘अभिव्यक्ति’, सबिता पोखरेल, आकृति घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कला पत्रकार सुमन वैरागी पण्डितले सञ्चालन गरेका थिए ।













