मिङ्मा दोर्जी शेर्पाको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ को लोकार्पण


पर्यटन प्रवर्धक मिङ्मा दोर्जी शेर्पाको आत्मकथा ‘सगरमाथाको शेर्पा म’ पूर्व उपराष्ट्रपति सम्माननीय नन्द बहादुर पुनको हातबाट लोकार्पण भएको छ । धुम्बराहीस्थित अकमा होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि पुन र  लेखक शेर्पाको साथमा प्रकाशक संस्था जरा फाउन्डेसनका अध्यक्ष कृष्ण प्रसाईं, गीतकार देवेन्द्र केसी, नियात्राकार प्रतीक ढकाल, साहित्यका डा.रेणुका सोलु, छाया लेखक सिर्जना शर्मा र पर्यटन व्यावसायी निमा तेन्जिङ शेर्पाद्वारा पुस्तक संयुक्त रुपमा सार्वजनिक गरिएको हो ।

लास्ट फ्रन्टिएर ट्रेकिङको आयोजनामा भएको ‘सगरमाथाको शेर्पा म’ लोकार्पण कार्यक्रममा उपस्थित अतिथिहरुलाई निमा तेन्जिङ शेर्पाले स्वागत मन्तव्य दिँदै आफ्नो पापा मिङ्मा शेर्पा एउटा उदाहरणका रुपमा आफूले पाएको बताएका थिए । पारिवारिक रुपमा पुस्ता हस्तान्तरणसँगै आफ्नो पूर्खाको इतिहासलाई उजागर गर्न, मानवसेवा र सामाजिक कार्यमा निरन्तर लाग्न प्रेरित गर्ने कार्यमा पापालाई एक उदाहरणको रुपमा लिएको बताए ।

कार्यक्रममा लेखक मिङ्मा शेर्पालाई बौद्धिक युवाहरुको समूहको तर्फबाट सम्मान गरिएको थियो । गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापा, सङ्गीत-कला पत्रकार सङ्घका अध्यक्ष सुमन बैरागी, गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराई र गीतकार सत्यकला लामाले संयुक्त रुपमा लेखक मिङ्मा शेर्पालाई सम्मान गरेका थिए । शेर्पालाई पर्यटन क्षेत्रको प्रवर्धन, मानव सेवा, सामाजिक कार्य हुँदै देशको नामलाई विश्वसामु उच्च राख्न गर्नुभएको योगदान स्वरुप सम्मान अर्पण गरिएको थियो ।

पुस्तक ‘सगरमाथाको शेर्पा म’ लोकार्पण पछि शुभकामना मन्तव्य दिँदै छाया लेखक सिर्जना शर्माले लेखक मिङ्मा शेर्पा समाजको एक अथक योद्धाका रुपमा पाएको बताएकी थिइन् । उहाँको लेखन, अडियो रेकर्डलाई आफूले पुस्तकमा भाषागत रुपमा प्रस्तुत गर्न पाउँदा शेर्पाको जीवन भोगाईले आफ्नो जीवनमा समेत उर्जा थपेको बताएकी थिइन् ।

गीतकार देवेन्द्र केसीले लेखक मिङ्मा शेर्पालाई पुस्तक ‘सगरमाथाको शेर्पा म’ जीवन भोगाइको दस्तावेज भए पनि समाज रुपान्तरणको स्तम्भका रुपमा पनि लिएको बताए । शेर्पा विदेशीको भरिया मात्र नभएर नेपालको चिनारी भएको बताउँदै मिङ्मा शेर्पाको सुरुका दिनदेखि आजसम्मको भोगाइमा धैर्यता, लगनशीलता, इमान्दारितासँगै पर्यटन क्षेत्रको विकासमा निरन्तर दिएको योगदानको उदाहरणीय दस्तावेज भएको बताए । त्यस्तै नेपालमा पर्यटन क्षेत्रबाट गरेको योगदानलाई सम्मान गर्दै वीरल्याण्ड जस्तो अफ्रिकी मुलुकले पर्यटनमन्त्रीका रुपमा नियुक्त गर्नु नेपाल र नेपालीको लागि गर्वको विषय भएको बताए ।

त्यसैगरी नियात्राका प्रतीक ढकालले लेखक शेर्पालाई शुभकामना मन्तव्य दिँदै शेर्पा भनेको देश चिनाउने समुदाय भएको बताएका थिए । उनले देशका हरेक जनताले पहिला देश चिनाउने कार्य गर्न शेर्पासँग सिक्नुपर्ने बताए । शेर्पा, गोर्खा, सगरमाथा र  बुद्ध भनेको विश्वसामु नेपाली हो भनेर चिनाउने नाम भएको बताउँदै ढकालले ‘सगरमाथाको शेर्पा म’ भन्ने पुस्तकभित्र एउटा परिवारको मात्र कथा नभएर सम्पूर्ण शेर्पाको प्रतिनिधित्व गर्ने दस्तावेज निर्माण भएको बताए ।

त्यसैगरी साहित्यका डा.रेणुका सोलुले लेखक मिङ्मा शेर्पा एउटा खुला विश्वविद्यालय भएको बताउँदै परिश्रम गर्न कोही पनि नहिचकिचाउने हो भने विदेशमा भौंतारिनु पर्दैन भन्ने एउटा उदाहरणका रुपमा पाएको पनि बताइन् । दुःखमा नआत्तिने र सुखमा नमात्तिने व्यक्तिका रुपमा लेखक शेर्पा रहेको बताउँदै आफ्नो पूर्खा र भोलिका सन्ततिको लागि संस्कारको कथा बोकेको पुस्तकका रुपमा ‘सगरमाथाको शेर्पा म’ पाएको पनि उनले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनले लोकार्पित पुस्तक ‘सगरमाथाको शेर्पा म’ एउटा प्रेरणाको स्रोत बन्ने विश्वास लिएको बताए । पहिलो भेटमा नै लेखक मिङ्मा शेर्पाको कुराले आफूलाई आकर्षित गरेको बताउँदै पूर्वउपराष्ट्रपति पुनले एउटा कर्मठ नेपाली छोरो, मेहनत गरे के हुँदैन ? भन्ने ज्वलन्त उदाहरण भएको बताए । उहाँको पापादेखि नाति पुस्तासम्मको संस्कार, दुःख-सुखलाई जोड्ने इतिहास रहेको बताउँदै ‘सगरमाथाको शेर्पा म’ पुस्तकबाट धेरैले ज्ञान लिन सक्ने बताए ।

लेखक मिङ्मा शेर्पाले आफू जन्मेको सोलुदेखि जापान, काठमाडौंसम्मको यात्रामा भोगेका दुःखका पानाहरु पल्टाउँदा एउटा दस्तावेज निर्माण भएको बताए । खाली खुट्टा सोलुको हिउँमा खेलेका यादहरुदेखि हिमाल चढ्दा होस् या पापाको पदचाप पछ्याउँदै हिंडेका दिनहरु हुन् सबै स्मरणीय बनेको बताए । उनले यो पुस्तक निर्माण हुनुमा पहिलो श्रेय आफ्नी स्वर्गीय श्रीमतीको रहेको बताउँदै यहीँ कतै टेबलमा बसेर पेम्बा याङ्गजीले सुनिरहेकी छन् भन्दै सबैलाई भावुक बनाए । मेरा बाबाले गरेको दुःखको कथा, मैले भोगेको जिन्दगी, मेरा छोराहरुले भोगेको वर्तमान र नाति नातिनीहरुको भविष्यलाई जोड्ने र आफ्नो पूर्खाको इतिहासलाई सम्झाउने प्रयास गरेको बताए । ‘सगरमाथाको शेर्पा म’ पुस्तक निर्माणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरे । उनले पुस्तक लेख्नलाई हौस्याउने जेनकवि कृष्ण प्रसाई, गीतकार देवेन्द्र केसी र उर्जा दिइरहने जीवन संगीनी र परिवारप्रति नतमस्तक रहेको बताए ।

त्यसैगरी जरा फाउन्डेसनका अध्यक्ष एवं कार्यक्रमका सभापति जेनकवि कृष्ण प्रसाईंले कार्यक्रम समापन गर्दै मिङ्मा शेर्पा पर्यटन क्षेत्रको एउटा अथक योद्धा भएकै कारण दुखद् भोगाईको सफल व्यक्तित्व भएको बताए । सरल स्वभाव, असल व्यक्तित्व, मानवसेवी, सामाजिक विकासको खम्बा र सम्पूर्ण नेपालीको लागि प्रेरणाको स्रोत भएको बताए । कार्यक्रमलाई नरेश भट्टराईले संचालन गरेका थिए भने सुमन बैरागीले कार्यक्रममा मिडिया संयोजनको भूमिका निर्वाह गरेका थिए । रात्रीभोजसहित आयोजना गरिएको सो कार्यक्रममा विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्व, पत्रकार एवं लेखकका आफन्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।