कोइरालालाई एसिया ब्रान्ड अवार्ड ‘अन्तर्राष्ट्रिय मान्यता संस्कृतिविद्’ बाट भारतमा सम्मान ।

सीतल आचार्य – नयाँ दिल्ली

भारतको नयाँ दिल्लीमा हालै आयोजना भएको एसिया ब्राण्ड अवार्डले एसियाका विभिन्न देशबाट उपस्थित विशिष्ट व्यक्तित्वहरूमाझ नेपालका आरसी कोइराला ‘रामचन्द्र’ लाई ‘अन्तर्राष्ट्रिय मान्यता संस्कृतिविद्’ को उपाधिबाट सम्मान गरेको छ ।

कार्यक्रममा एसियाका विभिन्न देशका ३० भन्दा बढी व्यक्तित्वहरू उक्त उपाधिबाट सम्मानित भएका थिए । ३० वर्षभन्दा लामो समयदेखि नेपाली कला संस्कृतिको साथै विश्वका कला संस्कृतिको संबर्धन तथा प्रबर्धन गर्दै आएका कोइराला एभरेष्ट नेपाल कल्चरल ग्रुपका सस्थपक अध्यक्ष हुन् । उनी कला र संस्कृतिसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा पनि उच्च पदमा रही काम गर्दै आएका छन् । कोइरालाले विश्वको कला संस्कृतिको संबर्धन तथा प्रबर्धनमा पुर्याएको योगदान स्वरूप उक्त सम्मान प्रदान गरिएको हो ।

अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला नेपालमा भित्र्याउने श्रेय पनि कोइरालालाई छ । नेपालमा हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आयोजना गर्दै आएका कोइरालाले पाएको यस सम्मानले लोक संस्कृतिको प्रबर्धनको क्षेत्रमा उनले खेलेको भूमिकाको सम्मान भएको छ । सम्मानित कोइराला भन्छन्– ‘अवार्डले मलाई अझ जिम्मेवारी थपेको बोध गराएको छ ।’ अन्तर्राष्ट्रिय मञ्चमा पटक पटक सम्मानित भएका कोइराला आफ्नै देश नेपालले भने आफूलाई नचिनेकोमा गुनासो पोख्तै भन्छन्- ‘यहाँ देशको झण्डा बोक्नेलाई कसैल चिन्दैन, सम्मान गर्दैन । नेपालमा सम्मान पाउन पार्टीको झण्डा बोक्नु पर्ने रहेछ ।’