गीतकार मणिराज बस्नेतको गीत सङ्ग्रह ‘प्रवासी मनका भावनाहरु’ बजारमा

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गीतकार मणिराज बस्नेतको रचनामा ‘प्रवासी मनका भावनाहरु’ शीर्षकको गीत सङ्ग्रह प्रकाशन भएको छ । संयुक्त राज्य अमेरिकाको डेनभर, कोलोराडो बस्दै आएका गीतकार बस्नेतको सो पुस्तक ‘सिमल बुक पव्लिकेशन’ले हालै बजारमा ल्याएको हो ।

सानै उमेरदेखि गीत, कविता र सङ्गीतप्रति गहिरो अभिरुची राख्ने सर्जक/कलाकार मणिराज करिव साढे २ दशक अघिदेखि सपरिवार अमेरिकामा बस्दै आएका छन् । उनका रचनामा करिव ४ दर्जन गीत रेकर्ड भएका छन् भने एकल रचनाका ३ वटा गीति एल्बम प्रकाशित छन् । जसमध्ये केही गीतमा उनले स्वर समेत दिएका छन् ।

५२ वटा गीत सङ्ग्रहित ‘प्रवासी मनका भावनाहरु’ पुस्तकमा प्रेम वियोग, प्रेम आकर्षण, परदेशीको पिडा, देशप्रेम, जीवनजगतका तिता मिठा भोगाईका अनुभूति, प्रेमपरक नारी भावना, पर्व विशेष आदि विविध भावका गीत समावेश गरिएको छ । पुस्तकमा एकल र युगल गीतको संयोजन गरिएको छ भने रेकर्ड भैसकेका धेरै गीत पनि समावेश छन् । ‘गीत लेखन मेरा लागि केवल एउटा विधा मात्र नभई मेरो जन्मभूमि तथा साथीभाइ र परिवारसँग जोडिने बलियो माध्यम बनेको छ ।  मेरा डायरीका पानाहरुमा आफ्नै हातले कोरिएका प्रत्येक अक्षरहरु मेरा आँसु, हाँसो, खुसी, रोदन र देशप्रतिको अगाध प्रेमका साक्षीहरु हुन्’ गीतकार मणिराज आफ्ना गीत सिर्जनाहरुको सन्दर्भमा भन्छन्  ।

साहित्य मानव सभ्यताको संवेदनशील अभिव्यक्ति हो । त्यस मध्येमा पनि गीतलाई साहित्यको सबैभन्दा उत्कृष्ट विधा मानिदै आएको छ । गीतकारले आफ्ना कल्पना र अनुभवहरुलाई थोरै शब्दमा गहनताका साथ उतार्ने भएकैले साहित्यमा यसको विशेष महत्त्व भएको हो । गीत साहित्यका अनेक विधामध्ये सबैभन्दा कोमल, हृदयस्पर्शी र मनसँग सहजै जोडिन सक्ने विधा हो ।

गीत केवल शब्द, सङ्गीत र स्वरको संयोजन मात्र होइन; यो मानवीय हृदयको धड्कन, अनुभूतिको आवाज र जीवनको यथार्थ चित्रण पनि हो । त्यसैले साहित्यमा गीतको आफ्नै विशिष्ट गरिमा छ । गीत पढ्न सकिन्छ, तर यसको  वास्तविक सौन्दर्य गाएर वा सुनेर अनुभूत गर्दा सुनमा सुगन्ध झैं हुन्छ, भावले अझ गहिराई पाएको महसुस हुन्छ । केही पङ्क्तिमै प्रेमको विशाल संसार, वियोगको अथाह पिडा, मातृभूमिप्रतिको अगाध प्रेम र जीवन दर्शनका गहन भाव अभिव्यक्त गर्न सकिने भएकैले पनि यसको महत्व अपार छ ।

रेकर्ड भैसकेका र रेकर्ड हुन बाँकी रहेका गीतहरुलाई एउटै पुस्तकमा सङ्ग्रहित गरि प्रकाशन गरिएकोले गीतकार मणिराजको साहित्यिक व्यक्तित्त्व बुझ्न र मनन् गर्न यस पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा विश्वस्त हुन सकिन्छ । प्रवासमा रहेर पनि नेपाली गीत-सङ्गीतप्रति अनवरत क्रियाशील गीतकार मणिराज बस्नेतको यस पुस्तकले नेपाली गीति वाङ्मय भण्डारमा एउटा ईंटा  थप्ने काम गरेको छ ।