अनेसासले गर्यो गोवर्द्धन पूजासँग साक्षात्कार कार्यक्रम

-प्रकाश सुवेदी

`अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ (अनेसास) नेपाल च्याप्टरको आयोजनामा समाजका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजासँगको साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय नेपाली विभाग प्रमुख तथा बरिष्ठ समालोचक खगेन्द्रप्रसाद लुइँटेल रहनुभएको थियो । अनामनगरमा रहेको सामुदायिक भवनको हलमा सम्पन्न भएको सो कार्यक्रममको सञ्चालन नेपाल च्याप्टरका बरिष्ठ उपाध्यक्ष मञ्जिला शर्मा (अनिल) ले गर्नुभएको थियो ।

कार्यक्रममा अनेसास केन्द्रका पूर्व अध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष डा. रेणुका सोलू, महासचिव विमला निरौला, चर्चित बालगीतकारका रूपमा आफ्नो परिचय बनाउनुभएका साहित्यकार रामबाबू सुवेदी, साहित्यकार विधान आचार्य, अनेसास ट्रष्टी सदस्य तथा गीतकार अम्बिका गुरुङ, केन्द्रीय महिला संयोजक तथा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, अनेसास केन्द्रीय सदस्य प्रमोद सारङ्ग, साहित्यकार किशोर पहाडी, प्रखर समालोचक महेश पौडेल, समालोचक प्रभा बराल, साहित्य पोष्टका प्रधान सम्पादक अश्विनी कोइराला लगायतका व्यक्तित्वहरु अतिथिका रूपमा रहनुभएको थियो ।

च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्य राख्नुभएको सो कार्यक्रममा डा. रेणुका सोलू, सन्ध्या पहाडी र विमला निरौलाले पनि आफ्ना विचार राख्नुभएको थियो । केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा सहित साहित्यकार विधान आचार्य र समालोचक प्रभा बराललाई सम्मान गरिएको सो कार्यक्रममा संस्थाका आजीवन सदस्यलाई प्रमाणपत्र र परिचयपत्र वितरणका साथसाथै अनेसास कविता महोत्सव २०२३ मा तृतीय स्थान प्राप्त गर्नुभएका सुन्दर श्रीषलाई अमेरिकन डलर २०० सहित पुरस्कृत गरिएको थियो । दुई घण्टाको समयावधिमा धेरै चरणका कार्यक्रमहरु सम्पन्न भएको सो समारोहमा अनेसासका केन्द्रीय सदस्य प्रमोद सारङ्गको हाइकु सङ्ग्रह `असर्फी´ को विमोचन पनि गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डा. खगेन्द्र प्रसाद लुईँटेलले अब अनेसासले सङ्ख्यात्मक भन्दा गुणात्मक कार्यक्रममा जोड दिनुपर्छ भन्दै विदेशमा गएर साहित्यको सेवा गर्नेहरुले छुस्स छुस्स अरुका कुरा काट्दै मट्याङ्ग्रा हाल्नु भन्दा एक अर्काको काममा सहयोग र उचित सल्लाह दिन सिक्नुपर्छ भनेर सुझाव दिनुभयो । कार्यक्रममा अनेसास केन्द्रका अध्यक्ष गोवर्द्धन पूजाले नेपाल च्याप्टरप्रति आभार प्रकट गर्दै विश्वभर रहेका २५०० सङ्गठित सदस्यहरु मध्ये ४०० को हाराहारीमा सदस्य भएको नेपाल च्याप्टर अनेसासको साझा घर भएको बताउनुभयो । अनेसास विशेषगरि परदेशमा छरिएर रहेका साहित्यकार र साहित्यप्रेमीहरु मिलेर नेपाली भाषा र साहित्यका लागि केही गरौँ भन्ने उद्देश्यका साथ खोलिएको भएता पनि नेपाल च्याप्टरले सबै च्याप्टरहरुको सम्पर्क कार्यालयको रूपमा भूमिका खेलेको बताउनुभयो ।

पूजाले अनेसासलाई नेपालमा बिस्तार र व्यवस्थित बनाउन सुरुमा राधेश्याम लेकाली र पछिल्लो समयमा सन्ध्या पहाडी लगायतका व्यक्तिहरुको विशेष योगदान रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उहाँले नेपालमा रहेको कार्यालयलाई अझै व्यवस्थित बनाउँदै विदेशबाट आएका कवि साहित्यकारहरुको झोला बिसाउने थलो बनाउन पनि लागिपर्ने बताउनुभयो । प्रकाश पौडेल `माहिला´ अध्यक्ष रहँदा प्रारम्भिक सुरुआत गरेको परिचयपत्र निर्माणको विषयलाई आफ्नो पालामा मूर्त रूप दिँदै केहीदिन अघि पोखराबाट वितरणको सुरुआत गरी आज काठमाडौँमा समेत वितरण गर्न पाउँदा गर्व लागेको र यति कार्य गर्न संस्थाले ३३ वर्ष कुर्नुपरेको प्रसङ्ग पनि स्मरण गर्नुभयो ।