गीतकार सङ्घले उपचार कोषका लागि साङ्गीतिक कार्यक्रम गर्दै


गीतकार सङ्घ नेपालले गीतकार उपचार कोष सहयोगार्थ साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । सङ्घले आगामी भदौ १ गते शुक्रवार सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा विशेष साङ्गीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । समारोहमा राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित अग्रज गीतकारहरूको गीत लाइभ बाजामा प्रस्तुत गरिने र सङ्कलित रकमबाट नेपाली गीत लेखनमा योगदान पुर्‍याउने तमाम गीतकारहरूका लागि ‘गीतकार उपचार कोष’ खडा गरिने कुरा सङ्घका अध्यक्ष वसन्त बित्यासी थापाले जानकारी गराएका छन् l कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख अतिथ्यता रहने कुरा थाहा भएको छ l  

कार्यक्रममा रत्न शमशेर थापाद्वारा रचित दुई गीत ‘जाग लम्क चम्क र  ए कान्छा ठट्टैमा’, किरण खरेलको ‘वसन्त नै बस्न खोज्छ यहाँ’, यादव खरेलको ‘गैरी खेतको’, भैरवनाथ रिमाल ‘कदम’को ‘जुन फूल मैले र उदास मेरो जीवन’, नगेन्द्र थापाको ‘चिनारी हाम्रो’, राजेन्द्र थापाको ‘पोहोर साल खुसी फाट्दा’, प्रेम विनोद नन्दनको ‘ज्यानको माया नैना रेशम’, विश्व बल्लभको ‘भाग्यले खुसी’, शिवशंकर थापाको ‘भन्थिन् मेरी उनी’, दुर्गालाल श्रेष्ठको ‘फूलको आँखामा फूलै संसार’ र कालीप्रसाद रिजालको बनै खायो डढेलोले’ गरि ११ सर्जकका १३ वटा  गीतहरूको प्रस्तुति रहने जानकारी प्राप्त भएको छ l नेपाली गीतसङ्गीतको क्षेत्रमा आबद्ध रहेका विभिन्न सरकारी निकाय, सङ्घसंस्था, गीत–सङ्गीतप्रेमीहरू तथा संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरूलाई आफ्नो स्वेच्छाले टिकट खरिद गरी वा कार्यक्रममा उपस्थिति जनाई भव्यताको साथ सम्पन्न गर्न सङ्घले आग्रह गरेको छ ।