नवल खड्का रू. १० लाख सहित पुरस्कृत

-तुलसी गिरी ‘भावुक’

राष्ट्रवादी कलाकारको रुपमा परिचित नवल खड्काद्वारा निर्मित एवं निर्देशित चलचित्र ‘काँडेतार’ ले नगद रू. १० लाखको पुरस्कार प्राप्त गरेको छ l चलचित्र विकाश बोर्डको २३ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा चलचित्र निर्माता, निर्देशक तथा कलाकार खड्काको सो चलचित्र पुरस्कृत भएको हो l कार्यक्रमकी प्रमुख अतिथि सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले खड्कालाई सो पुरस्कारको रकम हस्तान्तरण गरेकी थिईन् l मौलिक, सांस्कृतिक, स्वाधिनता, देशभक्ति र सामाजिक रुपान्तरण जस्ता विषयमा निर्मित चलचित्रका सर्वोत्कृष्ट कथालाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गर्ने उद्देश्यले स्थापित चलचित्र बिकाश बोर्डको ‘स्टोरी बैंक’ अन्तर्गतको कोषबाट खड्कालाई सो पुरस्कार दिईएको कुरा थाहा भएको छ l हाल च्यारिटी शो भईरहेको ‘काँडेतार’ आगामी फागुन २५ गतेबाट सार्वजनिक रुपमा प्रदर्शनमा आउने कुरा निर्माता/निर्देशक खड्काले जानकारी गराएका छन् l     
देशभक्तिपूर्ण कथावस्तुमा आधारित फिल्मबाट राष्ट्रिय स्वाधीनता र देशप्रेमको सन्देश दिएबापत ग्रेटर नेपाल महाभियानले समेत केहीदिन अघि खड्कालाई नगद रू. १ लाख ५० हजार सहित सम्मान गरेको थियो l

पुरस्कृत भए पश्चात निर्माता/निर्देशक खड्काले देशभक्ति र राष्ट्रवादी भावनामा निर्मित चलचित्रलाई नेपाल सरकारले यसरी सहयोग गर्नु सबै देशभक्त अभियन्ता तथा नागरिकहरुको सम्मानका साथै स्वदेशी चलचित्रको प्रबर्द्धन भएको आफूले महसुस गरेको प्रतिक्रिया दिएका छन् l सो अवसरमा चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्षहरु, वर्तमान अध्यक्ष भुवन केसी, बोर्ड सदस्यहरु र स्टोरी बैंकको पुरस्कार छनोट समितिका पदाधिकारीहरुप्रति समेत उनले कृतज्ञता ब्यक्त गरेका छन् । चलचित्रमा नवल खड्का,गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्का लगायतको अभिनय रहेको छ ।

कार्यक्रममा विभिन्न लघु चलचित्र बनाउने मेकरहरुलाई पनि उत्कृष्टताको आधारमा प्रोत्साहन स्वरुप रू. १ लाख, रू. ७५ हजार र रू. ५० हजार नगद सहित पुरस्कृत गरिएको थियो भने सर्वोत्कृष्ट कर्मचारी घोषित गर्दै बोर्डकी सहायक अधिकृत सीता कुमारी ढुङ्गेललाई नगद रू. २५ हजार, उत्कृष्ट कर्मचारीका रुपमा हरिसिंह रैखेलालाई रू. २५ हजार र कार्यालय सहयोगी गंगा थापालाई नगद रू. १५ हजार सहित पुरस्कृत गरिएको थियो l यसैगरी समारोहमा बोर्डका सदस्य सचिव विशाल सापकोटाले कार्य प्रगति र भावी योजनाबारेको प्रतिवेदन प्रस्तुत गर्दै १७ करोडको प्रस्तावित बजेट सार्वजनिक गरेका थिए l