सुरेन्द्र महर्जन ‘अमर’ को ३२ औं कृति ‘अनौठो माया’ सार्वजनिक


विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आउनुभएका विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को साहित्यिक कृति अनौठो माया (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको छ । ओएसनेपालको आयोजनामा ओएसनेपाल म्युजिक अवार्ड २०८० को नोमिनेसन प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अथिति अमन लाल मोदी सङ्घीय मामिला तथा प्रशासन मन्त्री र विशेष अथिति एस. एस. पि धनबहादुर कार्कीबाट संयुक्त रूपमा सो  उपन्यास सार्वजनिक भएको हो ।

कार्यक्रम बोल्नु हुँदै प्रमुख अथिति अमनलाल मोदी र विशेष अथिति एस. एस. पि धनबहादुर कार्कीले अवार्डको प्रमाणपत्र पाउने सबैलाई हार्दिक बधाई र साहित्यकार सुरेन्द्र महर्जन अमरलाई शुभकामना र सफलताको कामना व्यक्त गर्नुभयो । २०७४ सालबाट निरन्तर साहित्य र कला क्षेत्रका पुस्तक, गीति एल्बम लगायत साहित्यकार अमरका कृतिहरू ओएस नेपालले प्रकाशन गर्दै आइरहेको र अझ मौका मिलेको खण्डमा उहाँको कृतिहरू अझै प्रकाशन गर्दै जाने ओएस नेपालको तर्फबाट विवेक कार्कीले बताउनुभयो ।  अनौठो माया (उपन्यास) का लेखक सुरेन्द्र महर्जन ‘अमर’ ले आफ्नो उपन्यासभित्रका कथा काल्पनिक मात्रै नभएको बताउनुभयो l उहाँले अहिलेको जमानामा यथार्थमा पनि कहीँकतै आफ्नो बनेर धोका दिने मान्छेहरू धेरै हुने भएको कारण कथालाई अलग्गै तरिकाले उपन्यासमा समेटिएको बताउनु भयो । नाम र मान्छेलाई पात्रको कुनै माध्यमबाट सम्बोधन गरे पनि कसैलाई होच्याउने नगरिएको र कथालाई पूर्णता दिन पात्रहरू आवश्यक पर्ने हुनाले कसैलाई पात्रको रूपमा समावेश गरिएको उहाँले बताउनुभयो ।

उपन्यासकार ‘अमर’ले हालै सगरमाथा बेस क्याम ५ हजार ३ सय ६४ मिटर अग्लो स्थानमा आफ्नो उनन्तिसौं कृति विमोचन गरि वर्ल्ड बुक अफ विश्व कृतिमान रेकर्ड राखेर प्रमाणपत्र हासिल गरिसक्नु भएको छ  । लेखनका साथसाथै उहाँ चित्रकारिता, गायन पनि उतिकै क्रियाशील हुनुहुन्छ । उहाँको यस अघि कविता, गीत, हाइकु, एल्बम, गीतिकविता, उपन्यास, नेपाली कथानक गीतिचलचित्र गरेर एकतीसभन्दा बढी कृति प्रकाशन भैसकेका छन् भने यो उपन्यास उहाँको ३२ औं कृति हो ।   

उपन्यास सार्वजनिक कार्यक्रममा उपन्यासकार सङ्घका अध्यक्ष शंकर भारतीले ‘अनौठो माया’ उपन्यास पढ्दा घटनाहरू कौतुहलतापूर्ण लाग्ने र पढेपछि छोड्नै मन नहुने बताउँदै अन्त्य  कसरी हुन्छ ? अब के होला ? भन्ने जिज्ञासा हुँदा हुँदै उपन्यासको अन्त हुने कुरा बताउनु भयो । उहाँले भन्नुभयो – ‘जसलाई मैले लेखकको सुन्दर कल्पना शक्ति र सो कल्पनालाई मूर्त रूप दिन सक्ने अनुभवी लेखन सिल्पिकै उपज मानेको छु ।’