स्वीट्जरल्याण्ड र फ्रान्समा प्रस्तुति दिएर फर्कियो नेपाली टोली  


विगत लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले स्वीट्जरल्याण्डको मान्टिग्नी र फ्रान्सको कोन्फोलेन्समा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ । स्वीट्जरल्याण्डको मान्टिग्नीमा अगस्ट १ देखि ७ सम्म आयोजना भएको मेलामा नेपाल सहित विश्वका १० राष्ट्र र फ्रान्सको कोन्फोलेन्समा अगस्ट ९ देखि १६ सम्म आयोजना भएको मेलामा नेपाल सहित विश्वका १४ राष्ट्रका साँस्कृतिक समूह सहभागी भएका थिए ।

नेपालबाट कल्चरल ग्रुपका प्रमुख आरसी (रामचन्द्र) कोइरालाको नेतृत्वमा टोली त्यसतर्फ गएको थियो l कल्चरल प्रस्तुतिमा एभरेष्ट नेपाल कल्चरल ग्रुपकी निर्देशक शीतल आचार्यको निर्देशन तथा वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीको नृत्य निर्देशन रहेको थियो भने सङ्गीत संयोजन राम बहादुर भुजेलको रहेको थियो । टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने विभिन्न नृत्यहरु प्रस्तुत गरेको थियो ।

उक्त साँस्कृतिक मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, सतार, धिमाल, शेब्रु, कुमारी, लाखे, सोरठी लगायतका नृत्यहरू प्रस्तुत गरिएका थिए । मेलामा एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला, निर्देशक शीतल आचार्य, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्यतर्फ नृत्य निर्देशक शम्भु शाही, कृष्ण रेउले, उत्तम शर्मा, भवानी कोइराला, प्रमिला रिजाल, सपना महर्जन, गौरी ढकाल कोइराला, सनि शाही, वाद्यबादक तथा गायक गायिकातर्फ वरिष्ठ बाँसुरीबादक रामबहादुर भुजेल, वरिष्ठ वाध्यबादक धनेश्वर तिवारी, वरिष्ठ लोक गायक रामप्रसाद पाण्डे, गायिका रिता बुढाथोकी भुजेल तथा प्रबन्धक डेक प्रसाद अधिकारी (गोपाल) सहभागी भएका थिए ।

सहभागी अन्तर्राष्ट्रिय समूहका कलाकारहरुलाई नृत्य निर्देशक जोगेन्द्र केसीले नेपाली लोकगीत ‘रेशम फिरिरि’मा नृत्य प्रशिक्षण गराई मेलाको उद्घाटन र समापनमा नेपाली गीतमा अन्तर्राष्ट्रिय कलाकरहरुले प्रस्तुति गरेका थिए । सोही अवसरमा ग्रुपकी निर्देशक शीतल आचार्यले फ्रान्स र स्वीट्जरल्याण्डका सम्बन्धित नगरपालिका प्रमुखहरू, उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकसँग भेट गरी नेपालमा साँस्कृतिक पर्यटन प्रवर्धन गर्न सकिने सम्भावनाबारे तथा भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बारेमा जानकारी दिएकी थिइन् ।

कतिपय राष्ट्रका नागरिकलाई सगरमाथा (एभरेष्ट) को नाम थाहा भएपनि यो कहाँ र कुन देशमा पर्छ भन्ने थाहा नभइरहेको अवस्थामा यस्ता साँस्कृतिक कार्यक्रमको आदान प्रदानले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुग्नुका साथै नेपाल बुद्धको जन्मभूमि हो भनेर जानकारी दिनसमेत मद्दत पुग्ने कुरा एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइरालाले बताए । उनले साँस्कृतिक कार्यक्रमको प्रभाव जनस्तरसम्म पुग्ने र यस्ता कार्यक्रमलाई सरकारले पनि प्रवर्धन गर्नुपर्ने तर नेपाल सरकारको तर्फबाट प्रोत्साहन नभएको तीतो यथार्थ पोखेका छन् l  

निजीस्तरबाट साँस्कृतिक राजदूतका रूपमा मुलुक चिनाउने कार्यमा अलिकति भएपनि योगदान गर्न पाएकोमा गर्व लाग्ने गरेको कोइरालाले बताए । उनले भविष्यमा पनि यस्ता साँस्कृतिक आदान प्रदानका कार्यक्रमहरू भइरहने जानकारी दिए ।