परदेशीको व्यथा लिएर आए गायक कन्हैया सिंह



लोकप्रिय गायक कन्हैया सिंह परियारको स्वरमा रहेको गीत ‘भन्दै होलान्’ को भिडिओ सार्वजनिक भएको छ । लामो समयदेखि नेपाली गीत सङ्गीत क्षेत्रमा सक्रीय रुपमा लागिरहेका सिंहले यसअघि पनि दर्जनौं गीतमा आफ्नो स्वर दिइसकेका छन् । केही बर्षयता अमेरिकामा बसोबास गर्दै आएका सिंहले प्रवासमा रहेर पनि नेपाली गीत सङ्गीत क्षेत्रमा आफ्नो योगदानलाई निरन्तरता दिईरहेका छन् ।

परदेशमा रहँदा गाउँघरकै सम्झनाले सताउने र गाउँघरकै झल्को आउने कुरालाई गीतमा उजागर पारिएको छ । ‘परदेशिएपछि गाउँ बिर्सियो भन्दै होलान्’ बोल रहेको यस गीतमा परदेशीको मनमा उर्लिएको पीडालाई मर्मस्पर्शी  ढङ्गमा चित्रण गरिएको छ l गीतका रचनाकार हुन् सञ्चारकर्मी समेत रहेका सुमन बैरागी पण्डित l गीतमा लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको छ l

चलचित्र निर्देशक समेत रहेका माधवराज खरेलको निर्देशनमा बनेको यस म्युजिक भिडिओमा श्रीदेव भट्टराई, कञ्चन चालिसे, उद्धव प्रसाद भट्टराई, नम्रता खरेल पौडेल, राजु कार्की, कुमार स्याङ्बो लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

Kanhaiya Singh Pariyar नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो म्युजिक भिडिओ जीवन पराजुलीले खिचेका हुन् भने भिडिओमा राजेश कुमारको सम्पादन र नरेश खरेलको शृङ्गार रहेको छ । निर्देशक खरेलको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको यो म्युजिक भिडियो काठमाण्डौ र ललितपुरका विभिन्न स्थानहरुमा छायाङ्कन गरिएको कुरा निर्देशक माधवराज खरेलले जानकारी गराएका छन् ।