गीतकार पाठक र सङ्गीतकार मास्केको ‘खुशीको खुराक’ सार्वजनिक

-तुलसी गिरी ‘भावुक’


वीरेन्द्र पाठकको एकल शब्दरचना र सुनिल मास्केको एकल सङ्गीतमा रहेको गीति एल्बम ‘खुशीको खुराक’ को विमोचन भएको छ l इमेज एफ.एम. को स्टुडिओमा आयोजित कार्यक्रममा सर्जकहरुसँगको लाइभ अन्तर्वार्ताका साथमा सो एल्बमको विमोचन गरिएको हो l एल्बमका गीतकार वीरेन्द्र पाठक, सङ्गीतकार सुनिल मास्के, सञ्चारकर्मीहरु सुमन बैरागी, नरेश भट्टराई र कृष्ण आचार्यले संयुक्त रुपमा एल्बमको विमोचन गरेका हुन् l

एल्बममा ‘मनपर्ने मायालाई’, ‘खुशीको खुराक’, ‘कहिले मन पर्यो’, ‘आँधी बेहरीले उडायो’ र ‘केश कोर्या’ गरी पाँचवटा गीत रहेका छन् भने ‘मनपर्ने मायालाई’ मेल र फिमेल गरी दुई छुट्टाछुट्टै भर्सनमा प्रस्तुत गरिएको छ l गीतमा प्रदिप श्रेष्ठ, रिकेश गुरुङ र दीक्षित पौडेलको सङ्गीत संयोजन रहेको छ भने प्रसिद्ध गायक-गायिका मिलन नेवार, राज सिग्देल, विश्व नेपाली, शिव परियार, रचना रिमाल र सुरेश लामाले स्वर दिएका छन् l प्राप्त जानकारी अनुसार एल्बमका गीत मध्ये ‘मनपर्ने मायालाई’ को भिडिओ समेत निर्माण गरिएको छ l युवराज वाइबाको निर्देशन तथा नरेश भट्टराई र उषा उप्रेतीको अभिनय रहेको सो भिडिओ छिट्टै रिलिज हुने कुरा पनि थाहा भएको छ l  

शुभकामना मिडिया सोलुशनद्वारा प्रकाशित यस एल्बमका सबै गीत ए वान म्युजिसियन स्टुडिओका प्राविधिक राजेश श्रेष्ठले रेकर्ड गरेका हुन् भने गीतमा किशोर थापाको मिक्सिङ / माष्टरिङ रहेको छ l सङ्गीतको बजार डिजिटलमय भएकोले आजकल एउटा गीत वा एउटा भिडिओ मात्र रिलिज गर्ने प्रचलन रहेको छ l बजारमा गीति एल्बम विरलै मात्र प्रकाशन हुने गरेका छन् l