मिशन ग्रिनकार्ड : धमाधम खुल्दै अवार्डका डिपार्टमेन्टल स्टोरहरू

-तुलसी गिरी ‘भावुक’


नेपालमा अहिले हप्तामै एउटादेखि दुईवटा सम्म अवार्डका कार्यक्रमहरु आयोजना हुन थालेका छन् l कतिपय अवार्ड आयोजकहरुले त ‘डिपार्टमेन्टल स्टोर’ ले सबै प्रकारका सामान बिक्री गरे झैं एउटै समारोहमा सङ्गीत, चलचित्र, फेशन र सामाजिक एवं व्यावसायिक क्षेत्रका भिन्न भिन्न विधामा समेत अवार्ड, सम्मान र पुरस्कार दिने गरेका छन् l नयाँ अवार्डहरु थपिने क्रम पनि त्यत्तिकै छ l यही गतिमा थप हुँदै जाने हो भने केही समयपछि दैनिक अवार्ड कार्यक्रमहरुको आयोजना हुने कुरा निश्चित छ l पहिले अवार्ड, सम्मान र पुरस्कार पाउने मान्छेहरु औंलामा गन्न सकिन्थ्यो भने अहिले नपाउनेहरुको नाम औंलामा गन्न सकिने अवस्था आएको छ l

अवार्ड सँगसँगै आफूखुशी उपाधि सहितका सम्मान दिने बेथिति पनि यसरी मौलाएको छ, मानौ पदवीहरु हरेकका खल्ती खल्तीमा छन् l महाराजा, महारानी, किङ, क्वीन, सुल्तान, बादशाह, सम्राट, साम्राज्ञी आदि इत्यादि उपाधि कहिले कहिले ? कस कसद्वारा ? कसले ? र किन पाए ? यसको लेखाजोखा छैन l

बजारमा अवार्ड किन्न पाइन्छ l यो कुरा सबैलाई थाहा छ l तर यस विषयमा सार्वजनिक रुपमा बोलेर अनाहकमा कोही कसैसँग सम्बन्ध बिगार्न चाहँदैन l सामाजिक सञ्जालमा दिनकै अवार्डका फोटो देखेर वाक्क-दिक्क लागेपनि सबैजसो मान्छेहरु ‘बधाई छ’ लेखेर देखावटी हार्दिकता प्रकट गरिरहेका हुन्छन् l हुँदा हुँदा ‘निर्णायक’ को पद पनि महँगो मूल्यमा बिक्री हुन थालेको कुरा सुन्नमा आएको छ l केहीदिन अघि चलचित्र कलाकार सङ्घले एक विज्ञप्ति प्रकाशित गरी अनिश्चित समयका लागि सिफारिश पत्र बन्द गरिएको, सदस्यताको लागि परेका आवेदन र नयाँ सदस्यहरु उपर समिति बनाएर छानबिन गर्ने कुरा सार्वजनिक गरेको थियो l  

‘एक्स्ट्रा अर्डिनरी’ विधा अन्तर्गत नेपालमै बसेर अमेरिकाको ग्रिनकार्ड अप्लाई गर्न पाइने भएकोले अवार्डको व्यापार मौलाएको हो l अवार्डका पसल जति बढेपनि ग्राहक धेरै भएकाले फरक फरक क्षेत्रका ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै कतिपय आयोजकले यसलाई ‘डिपार्टमेन्टल’ बनाएका हुन् l प्रायोजकहरु राखेर गरिने अवार्ड कार्यक्रमहरु व्यावसायिक प्रकृतिका हुने भएपनि न त कतैबाट अनुमति लिईएका हुन्छन् न आर्थिक गतिविधि नै पारदर्शी हुन्छ l तथापि ‘ग्राहक’ ले पुराना आयोजकलाई बढी पत्याउने भएकोले नयाँ अवार्डको आयोजना गर्ने कतिपय आयोजकको पसल नचलेर चिलिम फर्किएको पनि देखिएको छ l 

‘एक्स्ट्रा अर्डिनरी’ विधामा ग्रिनकार्ड अप्लाई गर्नका लागि आफू अरुभन्दा विशेष र फरक भएको प्रमाण पेश गर्नुपर्ने हुन्छ l जसका लागि आफ्नो विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड, प्रिन्ट मिडियामा आफ्नो बारेमा लेखिएका कुरा, आफ्नो विधाका सङ्घ-संस्थामा नेत्तृत्वदायी भूमिका ( कार्यसमिति ), आफ्नो क्षेत्रका सङ्घ-संस्थाको आजीवन सदस्यता, आफ्नो विधामा आयोजना भएका प्रतिस्पर्धामा निर्णायक, उच्च पारिश्रमिक लिएर काम गरेको सम्झौतापत्र, आफूसँग सम्बन्धित सरकारी एवं गैर सरकारी सङ्घ-संस्था, विभिन्न सञ्चार गृह तथा आफ्नो क्षेत्रका विशिष्ट व्यक्तिहरुद्वारा गरिएको सिफारिस पत्र आदि मुख्य विषयहरुमा पर्दछन् l यस्ता असली डकुमेन्टको हैसियत सबैमा हुँदैन l त्यसैले कतिपय किनेर, कतिपय चढाईबढाई गरेर त कतिपय नक्कली गर्नुको विकल्प छैन l केहीबर्ष अघिसम्म यस्ता सिफारिस पत्र नि:शुल्क पाईन्थ्यो l सिफारिस लिनेको भीड बढ्न थालेपछि सबैतिर शुल्क लिन थालियो l यही बीचमा मौकामा चौका हान्दै कतिपय सङ्घ-संस्थाले त पटक पटक शुल्क बढाएका पनि छन् l बजारमा सिफारिसको पसल पनि राम्रै चलेको मान्नुपर्छ l

म यो यो कारणले ग्रिनकार्ड पाउन योग्य छु भनेर केस दर्ता गरिदिने नेपाली मूलका कानून व्यावसायीहरु अमेरिकामा धेरै छन् भने छुट्टै शुल्क लिएर तिनको एजेन्टको रुपमा डकुमेन्ट तयारीमा परामर्श दिने कानून व्यावसायीहरु पनि नेपालामा छन् l पहिले नेपालमै बसेर ग्रिनकार्ड अप्लाई गर्न मिल्छ भन्ने कुरा धेरैलाई थाहा थिएन l कार्यक्रमका लागि उता पुगेकाहरुले मात्र अप्लाई गर्ने चलन थियो l यतैबाट अप्लाई गर्नेहरु सपरिवार धमाधम अमेरिका जान थालेपछि पछिल्ला ४-५ बर्ष यता नेपालमै बसेर अप्लाई गर्नेहरु ह्वात्तै बढेका हुन् l

‘एक्स्ट्रा अर्डिनरी’ अन्तर्गत गीत-सङ्गीत, साहित्य, खेलकूद, चिकित्सा, पर्वतारोहण लगायत कुनैपनि विधामा अप्लाई गर्न सकिन्छ l तथापि अहिले नेपालमा विशेषगरी गीत-सङ्गीत र चलचित्र क्षेत्रका सयौं सर्जक, कलाकार र प्राविधिकहरु डकुमेन्टको तयारीमा लागिरहेका छन् l यही बीचमा केही ग्रिनकार्ड पाएर सपरिवार अमेरिका उडिरहेका, केहीको केश ‘अप्रुभ’ भएर पनि विचाराधीन रहेका र केहीका ‘रिजेक्ट’ समेत भएका कुरा सुन्नमा आएका छन् l यदि केश हारेमा समयको बर्बादी र हैरानी त छँदै छ,  डकुमेन्टको तयारी, नोटरी, नेपालका परामर्शदाताको शुल्क र केश दर्ताको पहिलो किस्ता गरेर मोटामोटी १० देखि १५ लाख रुपैया स्वाहा हुने कुरा निश्चित छ l

कलाकार हुन् या गैर कलाकार, नेपालमै बसी ग्रिनकार्ड पाएर ढुक्सँग कोही नेपाली सपरिवार अमेरिका जान्छ भने त्यो खुशीकै कुरा हो l नेता, नेताका झोले-धुपौरे, नेताका नातागोता र शक्तिकेन्द्रसँग पहुँच राख्ने कर्मचारीहरुका लागि त स्वर्गै छ यो देश l अरुका लागि कि त खाडी मुलुकको बास कि ग्रिनकार्डको आश भयो l

केहीबर्ष अघिसम्म ‘एक्स्ट्रा अर्डिनरी’ अन्तर्गत थोरै ‘डकुमेन्ट’ पेश गर्दा पनि ‘केश अप्रुभ’ हुने गर्दथ्यो l नक्कली डकुमेन्ट प्रकरणले गर्दा अहिले तयारी धेरै जटिल बन्दै गईरहेको छ र सक्कली काम गर्नेहरुलाई समेत अमेरिकाले विश्वाश गरिहालेको छैन l यस्तै अवस्था रहिरहने हो भने यो ‘एक्स्ट्रा अर्डिनरी’ अन्तर्गत नेपालीहरुले ‘अप्लाई’ नै गर्न नपाउने या केश विरलै मात्र ‘अप्रुभ’ हुने स्थिति नआउला भन्न सकिन्न l