मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै

-डा. डी. आर. उपाध्याय


आज देशमा केन्द्रदेखि प्रदेश तथा स्थानीय तहसम्म अनियमितता बढेर गएको छ । जनताले कर तिरेर जम्मा भएको राज्यकोषमाथि मन लागि भइरहेको छ । अझै पनि जनतालाई चुस्ने क्रम बढिरहेको छ । मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै गइरहेको छ । तरपनि विभिन्न बहानामा राज्यकोषमा लुट मच्चाउने काम बढिरहेको छ । राज्यकोषको दोहन गर्ने क्रम बढ्नुले मुलुक आर्थिक रूपमा टाट पल्टिरहेको छ । यो बिषयमा गम्भिर बन्ने कहिले ?  जनतालाई चुसेर मुलुकमा बिकास र समृद्धि हुदैन । आज हामीले देखिरहेका छौं कि दलहरुले जनताको पक्षमा काम गर्न सकिरहेका छैनन् ।

जनतालाई भ्रममा राखेर कतिदिन राजनीति गर्ने ? यो मेरो गम्भिर प्रश्न हो । आज जनता भ्रममा छन् । अब राजनीतिक दल र नेताहरुले भ्रमको राजनीति गर्न छोडनु पर्छ । आज जनता धेरै चेतनशिल र जागरुप भइसकेका छन् । जनतालाई छल्ने ढाँटने युग समाप्त भइसकेको छ । यो युग भनेको प्रबिधि र बिज्ञानको युग हो । अब कसैले कसैलाई छल्न र ढाँटन सक्दैन । अब नेपालका राजनीतिक दल र तिनका नेताहरु इमानदार बन्नु पर्ने आबश्यकता देखिएको छ । राजनीतिक दलहरुले जनताका पक्षमा केही पनि गर्न सकेका छैनन् । आज देश ठूलो संकटमा छ ।

सत्तामा पुगेका नेताहरू नै इमान्दार बन्न सकेनन् । सुशासन र पारदर्शिता आजको आबश्यकता हो । आज मुलुकमा एकपछि अर्को बेथिति बढिरहेको छ । यो कुरा कस्ले बुझने ? अहिले सबैभन्दा बढी विकृति प्रदेश सरकारमा देखिन थालेको छ । अब प्रदेश सरकारले अनियमितता गर्ने काममा केन्द्र र स्थानीय सरकारलाई उछिन्न थालेका छन् ।

केन्द्रीय सरकार पहिलादेखि नै भ्रष्टाचारको अखडाका रूपमा रहँदै आएको हो ।अहिले अधिकांश प्रदेश सरकारले केन्द्र सरकारले बनाएको मन्त्रालयलाई टुक्राटुक्रा बनाएर मन्त्रालयको संख्या अत्यधिक रूपमा बढाएका छन् । सत्ता टिकाउन र राजनीतिक भागबन्डा गर्नकै लागि करोडौं रुपैयाँ व्ययभार थप्नेगरी अनावश्यक रूपमा मन्त्रालयको संख्या बढाउनु नीतिगत भ्रष्टाचार नै हो । जनतालाई सेवा सुविधा दिलाउनेभन्दा पनि सत्ता कसरी हुन्छ टिकाउने ध्यानमा राजनीतिक दल र तिनका नेताहरु छन् । यो राम्रो काम होइन ।

बाग्मती प्रदेशले हालै मात्रै आठवटा मन्त्रालयलाई टुक्र्याएर १४ वटा मन्त्रालय बनाएर राज्यकोषमा अनावश्यक रूपमा करोडौं रुपैयाँ व्ययभार थप्ने काम गरिरहेको छ । यस्तै, लुम्विनी प्रदेशले पनि त्यसरी नै अनावश्यक रूपमा मन्त्रालय संख्या बढाउने काम गरेको छ । यसैगरी स्थानीय तहमा पनि विभिन्न बहानामा आफूखुसी रकम बाँड्ने काम भइरहेको छ ।

सरकारी निकायमा भ्रष्टाचार अत्यधिक बढिरहेको छ । यो रोक्ने कस्ले ? अहिले न्याय क्षेत्र पनि भ्रष्टाचारको अखडा बनिरहेको छ । राजनीतिक नेतृत्वमा देखिएको खराबीको परिणाम न्याय क्षेत्रमा देखिएको छ । राजनीतिक क्षेत्र सफा र स्वच्छ नहुँदासम्म अन्य सबै क्षेत्र यस्तै बेथितिमा नै रहने छन । अब सबै भन्दा पहिला राजनीतिक क्षेत्र सुधार्नु पर्ने आबश्यकता देखिएको छ । अब भ्रष्ट नेताहरूलाई निर्वाचनमा धुलो चटाउनु पर्छ । भ्रष्टाचार गर्ने र राज्यकोषमा दोहन गर्नेलाई सामाजिक रूपमा बहिष्कार गर्नु पर्छ । अब सबै पक्ष जागरुक हुनुपर्ने बेला आएको छ ।