युवा पुस्ता राजनीतिमा अघि बढ्दै

-डा. डी. आर. उपाध्याय


अब देश बनाउने भनेको युवाहरुले हो । आज युवा पुस्ता राजनीतिमा अघि बढ्दै छन् । पुरानो पुस्ताबाट नेतृत्व आफनो हातमा लिन युवाहरु लागेकै छन् । युवा भनेका देशका कर्णधार हुन् । पछिल्लो समयमा देशको जिम्मा युवालाई दिनुपर्छ भन्र्ने मान्यता रहँदै आएको छ । युवाहरु बिना मुलुकको विकास र समृद्धि हुन सक्दैन । पुरानो पुस्ताले अब देशको बिकास गर्न सक्दैन ।

राजनीति भनेको समाज सेवा हो । राजनीतिको नाममा ब्यापार भइरहेको छ । यसमा सुधारको खाँचो छ । देशको विकास र जनताको हितका निम्ति नेताहरु इमान्दारिताका  साथ लाग्नु पर्छ । विकास र समृद्धि नारामा मात्र होइन, ब्यवहारमा पनि लागू गर्नु पर्छ । ऊर्जाशील युवा सत्तामा पुगे मुलुक गतिशील हुन सक्छ । पछिल्लो समयमा राजनीतिप्रति युवाहरूको बढ्दो संलग्नता देखिएको छ । यो राम्रो सङ्केत हो । युवाहरू नयाँ सोच र नयाँ योजना लिएर अघि बढ्नु पर्छ ।

राष्ट्रियस्तरका सबै राजनीतिक दलमा युवाको सहभागिता उल्लेख्य छ । अधिकांश युवा आशलाग्दा छन् । मुलुकमा लोकतन्त्र स्थापित भएपनि लोकतान्त्रिक व्यवहार स्थापित हुन सकेको छैन । यो चिन्ताको बिषय हो । राजनीतिक दल र तिनका नेताहरुले गैरलोकतान्त्रिक व्यवहार देखाउँदै आएका छन् । राजनीतिक दलका नेताहरुको गलत सोच र चिन्तनका कारण देश माथि उठ्न सकेको छैन । नेताहरुको कार्यशैली र व्यवहारै गलत हुँदा देशमा समस्या आएको छ ।

सत्ता परिवर्तनले जनतामा उत्साह ल्याउन सकेको छैन । नेपाल कम्युनिस्ट पार्टी एमालेको १०औं महाधिवेशन, राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशन र नेपाली कांग्रेसको १४औं महाधिवेशनमा युवाको सहभागीता रहेकै हो । यसमध्ये नेपाली कांग्रेसका केही आशलाग्दा युवा नेता आफ्नो हैसियत र क्षमता प्रदर्शित गराउन सफल बने । कांग्रेसको पछिल्लो महाधिवेशनले पुस्तान्तरणको आशा जगाएको छ । नेकपा एमालेले पुस्तान्तरणको आशा जगाउन सकेन । राप्रपाको महाधिवेशनले पनि केही आशा जगाएको छ ।

 हाम्रो राजनीति स्वार्थमा केन्द्रित भएको छ । स्वार्थको राजनीतिले मुलुकलाई अघि बढाउन सकिदैन । अहिलेको राजनीति सेवाभन्दा आर्जनको पेसा बन्दै आएको छ । राजनीतिलाई आर्जनको पेसा होइन, सेवा ठानेर इमानदारिताका साथ लाग्नु पर्छ । अब युवाहरुले यो बिषयमा गम्भिरताका साथ सोच्नु पर्छ । युवाको अगुवाइमा देश बनाउने अभियान चलाउनु पर्छ । यसका निम्ति युवा नेताहरु जनताको मन जित्ने किसिमले अघि बढ्नु पर्छ ।

अहिलेका युवा नेताहरु परम्परागत ढंगले अघि बढन खोजे सफलता मिल्ने छैन । युवाले चाहे नहुने केही छैन । अहिलेका कर्मशील लाखौं युवा मुलुकमा रोजगारी नपाएर बिदेश पलायन छन । युवालाई मुलुकमै रोजगारी दिने बातावरण राज्यले मिलाउनु पर्छ । देशको विकास र समृद्धि गर्ने भनेको युवाहरुले हो । युवाहरुलाई बिदेश पठाएर मुलुकको विकास र समृद्धि हुँदैन ।

कृषिप्रधान देश मानिँदै आएको हाम्रो मुलुक अहिले खाद्यान्नकै निम्ति परनिर्भर बन्नुपरेको छ । भएका उद्योग कलकारखाना व्यवस्थित नगरिँदा बन्द हुँदै आएका छन् । नयाँ उद्योग कलकारखाना खोल्ने सोच कसैमा छैन । निर्धारित समयमा पूरा गर्नुपर्ने निर्माण कार्य बर्षौंसम्म अलपत्र छन् । मनपरी बजेटको दोहन गरिरहेका छन् । युवा जनशक्ति बेरोजगार बनिरहेको छ । रोजगारी प्रदान गर्न नेताले ध्यान दिएका छैनन् । मुलुकको भाग्य र भबिश्य निर्माण गर्न युवा अघि सर्नु पर्छ । अब युवा नेताहरुले मुलुकको भबिश्यप्रति ध्यान दिनुपर्ने आबश्यकता देखिएको छ । अब देश बनाउने हो भने गलत प्रवृत्तिमा सुधार ल्याउनु पर्छ ।