पुन : अर्को गहन भावको गीतमा शिशिर योगी

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध गायक शिशिर योगीले पुन: अर्को गहन भावको गीत एकान्तमा को लिरिकल भिडिओ सार्वजनिक गरेका छन् l अग्रज सर्जकहरु रत्नसमशेर थापाको शब्दरचना र अम्बर गुरुङको सङ्गीत रहेको यस गीतको भिडिओ गायक योगीले आफ्नै अफिसियल युट्युब च्यानल शिशिर योगी बाट ३ दिन रिलिज गरेका हुन् l नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको यो गीत सङ्गम डिजिटल का प्राविधिक मित्र लामाले रेकर्ड गरेका हुन् भने भिडिओ वर्ल्डकभर मिडियाले तयार पारेको हो l

गीतमा अन्तर्मनका वेचैनी र वैचारिक तूफानलाई गीतकार थापाले अभियाक्तिको उच्चतम शिल्पद्वारा प्रस्तुत गरेका छन् l भाव तरङ्ग र कल्पनाको बेजोड बहाब रहेको यस गीतमा मनका असमन्जस्यता, द्वन्द्व, द्विविधा, छटपटी र वेचैनीहरुलाई गहन रुपमा प्रस्तुत गरेका छन् l गीत-सङ्गीतमा गहकिला भाव र माधुर्यता खोज्ने पारखीहरुका लागि यो अनमोल कोशेली हुन सक्छ l