‘बालबालिका ओसारपसार जघन्य अपराध हो’ – नवल खड्का


शुक्रबार संवाद डबलीले आयोजना गरेको ‘२७ बालबालिका उद्धार र ७ प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नायक तथा चलचित्र निर्माता नवल खड्काले राज्यले अभिभावकत्व निर्वाह नगरेकै कारण बालबालिका ओसारपसार भइरहेको बताए । राज्यको महत्वपूर्ण निकायमा बसेका व्यक्तिहरुको मिलिभगतमा बालबालिका किनबेच र व्यापारको बस्तु भइरहेको खड्काले दाबी गरे ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै खड्काले गरिबीकै कारण बालगृहमा पुग्ने गरेको बताउँदै बालबालिकाको नैसर्गिक अधिकारको राज्यले ग्यारेण्टी गर्नुपर्ने बताए । राज्य जिम्मेवार भएमात्रै आँखा फुटाएर, हात भाँचेर, बालबालिकालाई माग्ने काममा लगाएर भइरहेको कमाउ धन्दाको अन्त्य हुने बताए l खुल्ला सिमानाको दुरुपयोग गर्दै बालबालिका र महिला बेचबिखन भईरहेकाले अपराधिक गतिविधि रोक्नका लागि नै आफूले सिमानामा काँडेतारको बार लगाउन पर्छ भन्नेमा जोड दिएको उनले बताए ।

महिला, जेष्ठ नागरिक तथा बालबालिका मन्त्रालय मातहतको राष्ट्रिय बाल अधिकार परिषदकी कार्यक्रम व्यवस्थापक नमूना भुसालले परिवारसँगै बस्न पाउनुपर्ने बालबालिकाको पहिलो अधिकार भएको बताइन् । उनले गाउँबाट बालबालिका ल्याएर केही बालगृहले कमाउ धन्दा चलाइरहेको जानकारी गराउंदै परिषदले अनुमगन गरिरहेको बताइन् । भुसालले अहिले ४४ जिल्लामा गरी ४५४ बालगृह रहेको जानकारी दिँदै केही बालगृहलाई बालबालिकाले पालेको बताइन् । परिषदले गरेको अनुगमनको कर्णाली लगायतका दुर्गम जिल्लाबाट ल्याइने अधिकांश बालबालिकाका आमाबुबा भएको पाइएको समेत भुसालले जानकारी दिइन् । ‘बालगृहहरुले दया र मायाले बालबालिका ल्याएको छैनन् । राम्रो शिक्षा दिने भन्दै लोभ देखाएर अभिभावकले भेंडा, घोडा बेच्न बाध्य बनाएर बालबालिका बालगृहमा आइपुगेका छन्’ भुसालले भनिन् । लामो

समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था आधार नेपालका कन्ट्री डाइरेक्टर प्रल्हाद ढकाल, हिमाली नवीन समाजका कार्यकारी निर्देशक डिबी लामा, किप इन फ्यामिली टुगेदरका कोअर्डिनेटर भविन्द्र राई, नेकपा माओवादी केन्द्रका हुम्ला जिल्लाका स्थानीय नेता रणसिंह परिवारले बालबालिका सम्बन्धमा आ-आफ्ना बिचार ब्यक्त गरेका थिए ।