विश्व कीर्तिमानी गीतकार एवम् साहित्यकार डिआर उपाध्यायले गीत-सङ्गीतबाटै अरु १९ वटा विश्व रेकर्ड थप्दै छन् । यसअघि उनले गीत-सङ्गीतका विभिन्न ३२ फरक फरक विधामा वर्ल्ड रेकर्ड बनाईसकेका छन् । सोमबार बेलुका काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै कीर्तिमानी गीतकार उपाध्यायले अब १९ वटा फरक विधामा विश्व रेकर्ड थपेर कूल ५१ विधामा विश्व रेकर्ड कायम गर्न लागेको कुरा जानकारी गराए ।
डा. उपाध्यायले यसपटक फेरि गिनिज बुक अफ वर्ल्ड रेकर्ड, अमेरिकन बुक रेकर्ड, बृटिस रेकर्ड सहित विभिन्न १९ वटा वर्ल्ड रेकर्ड राख्न लागेको थाहा भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी ६ बैशाखमा काठमाडौंको रशियन कल्चरल सेन्टरमा एक कार्यक्रममाझ उनले थप १९ वटा विश्व रेकर्ड ग्रहण गर्ने भएका छन् ।
डा. उपाध्यायले थप १९ वटा वर्ल्ड रेकर्ड बनाएपछि गीत-सङ्गीतबाट अहिलेसम्मकै सबैभन्दा बढी रेकर्ड राख्ने देश नेपाल हुने कुरा थाहा भएको छ । गीतकार डा. उपाध्यायले यो रेकर्ड देशका लागि भएको कुरा बताएका छन् । गीत-सङ्गीत र साहित्यमा विश्व रेकर्ड राख्नका लागि नेपाली सर्जक पनि कम छैनन् भनेर विश्वलाई चिनाउनका लागि सबैभन्दा बढी विधामा वर्ल्ड रेकर्ड बनाउन लागेको कुरा समेत डा. उपाध्यायले बताए । एकै व्यक्तिको नाममा ५१ वटा विश्व रेकर्ड हालसम्म संसारमै कसैको पनि नभएको थाहा भएको छ ।
डा. उपाध्यायलाई यो विश्व रेकर्डका लागि सङ्गीतकार सन्तोष श्रेष्ठ र सङ्गीतकार सागर अधिकारी शरदले सघाएका छन् । डा. उपाध्यायका विभिन्न कीर्तिमानी गीतमा आफूले सङ्गीत गरेको कुरा सङ्गीतकार सागरले पत्रकार भेटघाटका क्रममा जानकारी गराए । जसका लागि आफू ६ महिनाबाट यही अभियानमा व्यस्त रहेको पनि उनले स्पष्ट पारे । यस्तै अर्का सङ्गीतकार सन्तोष श्रेष्ठले अबका १९ वटा मध्ये ७ वटा विश्व कीर्तिमानी गीतहरुमा आफ्नो सङ्गीत रहेको जानकारी गराए । डा. उपाध्यायको यो कीर्तिमान नेपालको लागि गौरवको कुरा भएको र विश्वकै लागि एउटा अनौठो घटना भएको पनि उनले बताए ।
यसपटक गीतकार उपाध्यायले विश्वकै छोटो गीत, विश्वकै सबैभन्दा लामो गीत, विश्वका सबै देशका मुद्राहरु समेटेर तयार गरिएको गीत, विश्वका सबैभन्दा धेरै पर्यटकीय स्थलहरुको नाम समेटेर तयार गरिएको गीत, सबैभन्दा बढी फूलहरुको नाम समेटेर तयार गरिएको गीत, सबैभन्दा बढी पटक आमा शब्द प्रयोग गरिएको गीत जस्ता विभिन्न १९ विधामा फरक फरक वर्ल्ड रेकर्ड राख्न लागेका हुन् ।