प्रतिमाका दुई कृति एकैसाथ सार्वजनिक


अढाई दशकदेखि गीत लेखनमा सक्रीय गीतकार प्रतिमा श्रेष्ठका दुई कृति एकसाथ सोमबार राजधानीमा एक समारोहबीच सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनले आफ्नो नयाँ गीतसङ्ग्रह प्रेम प्रार्थना र गीतिपुस्तक अक्षत अनुराग सार्वजनिक गरेकी हुन् । यी कृतिको गायक दीप श्रेष्ठ, गीतकार दिनेश अधिकारी, गीतकार डा. कृष्णहरि बराल र कवि विप्लव प्रतिकले बिमोचन गरेका हुन् ।

बिमोचित गीतसङ्ग्रह प्रेम प्रार्थनामा पाँच वटा गीतहरु छन् । जसमा मेरो हजुर… प्रेम प्रार्थना…, मिल्छ भने एउटा…, सुनन…, किस्ता किस्ता…बोलका गीत छन् । सबै गीतमा अनिल शाहीको सङ्गीत रहेको छ । यी गीतहरुलाई स्वरुपराज आचार्य, इतु जोजिजू, बविता मानन्धर र अस्मिता परियारले गाएका छन् । गीतिसङ्ग्रह मिडिया ल्याण्ड ले बजारमा ल्याएको हो ।

यसै एल्बमको तीनवटा गीतको भिडियो पनि कार्यक्रममा सार्वजनिक गरियो । जसमध्ये प्रेम प्रार्थना मा धिरेन शाक्य र उषा खड्गीको अभिनय रहेको छ । यस्तै किस्ता किस्ता मा सङ्गीतकार अनिल र गायिका अस्मिताले अभिनय गरेका छन् । सुनन गीतमा भने दिवश श्रेष्ठ र सब्बु शाहीको अभिनय रहेको छ । यस्तै गीति पुस्तक अक्षत अनुरागमा आफूले विभिन्न कालखण्डमा लेखेका ७२ वटा गीतहरु रहेको गीतकार प्रतिमाले कार्यक्रममा बताईन् ।