प्राज्ञ राईद्वारा लोपोन्मुख लोकभाकाहरूको सङ्कलन


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईले दाङ जिल्लाका थारू समुदायमा प्रचलित तर लोपोन्मुख अवस्थामा रहेका विभिन्न लोकभाकाहरूको स्थलगत अध्ययन–अनुसन्धान तथा सङ्कलन गरेका छन् ।

प्राज्ञ राईले थारू समुदायले दसैँका अवसरमा गाउने थरपैँया, माघे सङ्क्रान्तिको अघिल्लो रात गाउने ढङरु र विभिन्न भेटघाट तथा विशेष अवसरहरूमा गाउने हुरडुङ्या भाकाको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरिएको बताए । प्राज्ञ राईले दसैँका अवसरमा बजाइने बाइस् ख्वाट अर्थात २२ ओटा मादलका तालको भिडियो समेत लिएको सुनाए ।

ढङरु भाका सङ्कलनमा घोराही–७ का बेझलाल चौधरीले हुरडुङग्या भाका, शान्ति नगर गाउँपालिका विष्णुदास चौधरीले धनौराथरपैँया भाका र बाइस् ख्वाट (२२ मादलका ताल) को संयोजन घोराही–१० का चन्द्रप्रकाश चौधरीले गरेका थिए ।

लोकभाका अध्ययन, अनुसन्धान तथा सङ्कलन सम्बन्धी कार्यको स्थानीय संयोजन कुलवीर चौधरीले गरेका थिए । उक्त लोकभाकाहरू सम्बन्धी आलेखन थारू लोकगीत अध्येता डा. गोविन्द आचार्यले गरिरहेका छन् । यसै गरी प्राज्ञ सभा सदस्य चाँदनी मल्लको संयोजनमा दार्चुला जिल्लामा बसोबास गर्ने सौका जातिमा प्रचलित तीन ओटा लोकभाकाहरूको स्थलगत अध्ययन, अनुसन्धान तथा सङ्कलन कार्य सकिएको र चाँडै नै ती सबै लोकभाकाहरूको रेकर्डिङ गरिने प्राज्ञ राईले जानकारी गराए । यसअघि प्राज्ञ राईले ताप्लेजुङको ओलाङचुङगोलामा पुगेर वालुङ जातिका लोकभाकाहरूको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरिरहेका छन् ।