‘नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१’ को आवेदन खुल्यो


मनोरञ्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१ कोआयोजना गरिने भएको छ । लामो समयदेखि कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरञ्जन क्षेत्रलाई चलायमान बनाउन र साङ्गीतिक तथा सम्पूर्ण मनोरञ्जन क्षेत्रमा नयाँ आयाम थप्नको लागि मौलिक कला, संस्कृति, सङ्गीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले यो अवार्डको आयोजना गर्न लागिएको कुरा आयोजक कमिटिका अध्यक्ष रोशन पोखरेलले जानकारी गराएका छन् ।

समारोह आउँदो माघ महिनाभित्र काठमाडौँमा आयोजना गरिने कुरा बताएइको छ । अवार्डमा प्रतिस्पर्धाको लागि आवेदन फारम खुलिसकेको छ भने माघ १५ गतेसम्म फारम भरिसक्नु पर्ने जानकारी प्राप्त भएको छ । प्रतिस्पर्धीहरुले २०१९ जनवरीदेखि २०२० डिसेम्बरसम्म प्रकाशित  गीत – सङ्गीतहरुलाई अवार्ड प्रतिस्पर्धामा समावेश गराउन सक्नेछन् भने नव प्रतिभाको हकमा २०२० भित्र गीत निकालेको हुनु पर्नेछ ।

क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा ब्यवस्थापनमा हुन लागेको यस अवार्ड कमिटीको अध्यक्षमा सञ्चारकर्मी रोशन पोखरेल रहेका छन् भने अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशकमा सञ्चारकर्मी सूर्य चन्दले आफ्नो जिम्मेवारी निर्वाह गर्ने छन् । समारोहमा उत्कृष्ट गायक, गायिका, सङ्गीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक-गायिका, पर्व विशेष गीत ( तीज, दशैँ तिहार,होली ), भेग विशेष ( पूर्बेली, काँठे, पश्चिमेली ) भजन, पप/आधुनिक गायक-गायिका, भाषा-भाषिका गीत, म्युजिक भिडियो मोडल, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने थाहा भएको छ ।

अवार्ड समारोहमा समाजका विभिन्न पेशामा आवद्ध प्रतिष्ठित व्यक्तिहरुलाई पनि सम्मान गरिने छ भने नेपाली कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । प्रतिस्पर्धाको लागि आवेदन फारम भर्न इच्छुक सर्जक/कलाकारहरुले  क्रियटिभ ईन्साइट मिडियाको कार्यालयमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेका छन् ।